नारायणी नदीको कटानले न्युरेचोक क्षेत्रका स्थानीयमा त्रास

मेघौली ,२९ श्रवाण । महानगरपालिका–२७ र २८ को सिमानामा रहेको न्युरेचोकमा नारायणी नदीले कटान गर्न थालेपछि स्थानीयमा त्रास सिर्जना भएको छ । लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी आउँदा न्युरेचोक क्षेत्र कटानमा परेको हो ।

नदीको बाढीले तटबन्धका निम्ति बनाइएको ड्याम कटान गरी गत वर्ष राखिएका ठूला ढुङ्गासमेत बगाउन थालेको सूचना पाएलगत्तै नारायणी नदी व्यवस्थापन आयोजना, भरतपुर महानगरपालिका विपद् व्यवस्थापन तथा जनप्रतिनिधिहरुको टोलीले स्थलगत अनुगमन गरेको छ ।

सो स्थानमा नदीको कटान, रोकथाम र नियन्त्रणका लागि वडाका जनप्रतिनिधिहरु, स्थानीयहरु भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ । कटान स्थलमा हाँगासहितका रुख राखेर छालको प्रहार रोक्ने र जालीमा ढुङ्गा, बालुवा भरेर पर्खाल लगाउने काम भैरहेको भरतपुर–२८ का अध्यक्ष डण्डपाणि रिजालले बताउनुभयो ।

नदीको तह कम हुने कामना गर्नुबाहेक छेकबारका लागि अहिले भरपर्दो उपाय पनि त्यहाँ छैन । नारायणी नदी बस्तीमा पस्ने कुनै सम्भावना भने नरहेको बताउँदै वडाध्यक्ष रिजालले कटान रोक्ने प्रयास भैरहेको बताउनुभयो । बर्सेनि वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रू। चार अर्ब ७२ करोडबराबरको तटबन्ध निर्माण कार्य सञ्चालनमा रहे पनि न्युरेचोक क्षेत्रमा अघिल्लो वर्षकै तटबन्ध रहेको र पुरानो तटबन्ध कटानमा परे पनि लगभग ३५ मिटरजति अगाडि रहेको नयाँ तटबन्ध भने सुरक्षित रहेको उहाँले बताउनुभयो।

नदीमा कटान नरोकिएर पानीको सतह बढेमा बस्तीमा पस्ने अवस्था आएमा नदीजन्य सम्भावित जोखिमको निगरानी गर्दै महानगरपालिकाको विपद् व्यवस्थापन शाखा, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु तथा वडा कार्यालयहरु, नगर प्रहरी तथा जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायहरु उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको उहाँ बताउनु हुन्छ।

तत्कालीन जनताको तटबन्ध कार्यक्रम र हालको नारायणी नदी नियन्त्रण आयोजनाले तटबन्ध बनाए पनि वर्षा हुँदा नदी गाउँमा पस्ने चिन्ता स्थानीयलाई भने हटेको छैन । २०७६ सालको वर्षायाममा पानी कम परेका कारण जोखिम नबढे पनि २०७४ को साउन र २०७५ को भदौमा पनि तटबन्ध भत्केको थियो । गत वर्ष र यसपटक पनि उस्तै पीडा दोहोरिएको छ ।

न्युरेचोकबाट तटबन्ध भत्काएर नारायणीको बाढी पसे भरतपुर–२८ का बस्तीहरु सिसाबास, पञ्जना, योगीटोल, नयाँगाउँ, लौखुरी, तामाङ गाउँ, गोलाघाटसम्म असर पर्छ । ‘चार÷पाँच सय घरधुरीलाई असर पर्छ । पछिल्ला वर्षहरुमा तटबन्ध बनाए पनि भत्काउने गरेका कारण वर्षायाममा यहाँका बासिन्दाहरु सधैँ त्रासमा हुन्छन्’, वडाध्यक्ष रिजालले भन्नुभयो ।

२०४५ तिर बाढी आएर तहसनहस बनाएको ठाउँमा अहिलेसम्म नदी नै बग्ने गरेको उहाँ बताउनु हुन्छ। अहिलेको ठाउँबाट फेरि नदी दक्षिण लागे थुप्रै गाउँ हिउँदमा बगर र बर्खामा विशाल नारायणीको मार्ग बन्ने उहाँले ठोकुवा गर्नुभयो । त्यसैले बेलैमा राम्रो तटबन्ध गर्न उहाँले आग्रह गर्नुभयो । तर, बनेका तटबन्ध हरेक वर्ष बग्ने गरेको उहाँले बताउनुभयो । चितवन पोष्ट