शिव पौडेल स्मृति प्रतिष्ठानद्धारा बागमतीका महिला खेलाडी प्रशिक्षकलाई सम्मान

चितवन,३० श्रावण । शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानले बागमती प्रदेशभित्र रहेका महिला खेलाडी प्रशिक्षक तथा रेफ्रीहरुलाई सम्मान गरेको छ । प्रदेशभित्र रहेर खेलकुदका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका २५ जना प्रशिक्षक तथा रेफ्रीलाई आज एक कार्यक्रमका बीच प्रतिष्ठानले सम्मान गरेको हो ।

जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजना गरिएको कार्यक्रममा भलिवल, एथलेटिक्स, तेक्वान्दो, कराँते, पौडी, जिम्नाष्टिक लगायतका विधाका प्रशिक्षकको रुपमा रहेर काम गर्दै आएकाहरुलाई सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष एवं बामगती प्रदेश सभा सदस्य बिनु रायमाझी पौडेलले जानकारी दिइन् । प्रशिक्षकहरुलाई सम्मान पत्र र खेल पोशाक प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् । खेल क्षेत्रको विकासले मात्रै देशको शिर उच्च हुने उनको भनाई थियो ।

प्रतिष्ठानकी अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बासुदेव ढुड्गाना, रिकभरी नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, बागमती प्रदेश क्रिकेट संघका कोषााध्यक्ष अनिल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल तरुणदल जिल्ला अध्यक्ष रहनु भएका स्व। पौडेलको विंसं। २०६८ साल पुस २ गते कारागार कार्यालय चितवनमा रहेको समयमा आक्रमणमा परि निधन भएको थियो । पौडेलले काँग्रेसलाई संगठित गर्न गरेको योगदानका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।