किन जान्छ चनौलीमा विद्युत्

विनोद अधिकारी

चनौली, ३१ श्रावण ।  चनौली लगायत पश्चिम चितवनका अधिकांश क्षेत्रमा पछिल्लो समयमा बत्ती जाने समस्या बढ्दै गएको छ । पूर्व सूचना बिना अनियमित रूपमा बत्ती जाँदा घरदेखि कार्यालयसम्म असर पर्ने गरेको छ । यसले उपभोक्तामा हैरानी थपेको छ ।

विना जानकारी विद्युत् अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको सर्वसाधारणको गुनासो छ । ‘कि लोडसेडिङ हो भन्नुपर्‍यो र कार्य तालिका निकाल्नुपर्‍यो । होइन भने बत्ती कति बेला जान्छ टुङ्गो हुँदैन ।’ भन्दै स्थानीयहरूले गुनासो गर्ने गरेका छन् । विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रको फोनको घण्टी तारनतार बजिरहन्छ । ग्राहकले यही प्रश्न सोध्छन् तर कार्यालयबाट चित्त बुझ्दो जवाफ पाउँदैनन् ।

सुमन कार्कीले सामाजिक सञ्जालमा चनौली वितरण केन्द्रको पोस्ट शेयर गर्दै लेख्छन् ‘ यो सिस्टम बन्छ चैँ कसरी ? यो समस्या हल हुँदैन र सधैँ यस्तै हो ?’

यसबारेमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्र के भन्छ त ?

बर्षायाममा मौसमको कारण केन्द्रीय प्रसारण लाइनबाटै लाइन काटिने गर्दछ । खास गरी बर्षायाममा रुखको पात, हाँगाले बिजुलीको तार छोई दिँदा विद्युत् फिल्ड हुने गरेकोले यस्तो भएको प्रमुख शिशिर लम्साल बताउनुहुन्छ । लोडसेडिङ र अन्य कारणले केही नभएको उहाँले बताउनुभयो ।

चितवन आवाजसँगको कुराकानीमा प्रमुख लम्सालले हावाहुरीले गर्दा विभिन्न ठाउँका पोलहरू ढल्ने हुँदा मर्मतका लागि पनि बत्ती काट्ने गरिएको बताउँदै अहिले हावाहुरीको सिजन पनि भएको जानकारी दिनुभयो । पूर्वमा विविध कारणले सिस्टममा असर पारेमा देशै भरीको सिस्टममा असर पार्ने प्राधिकरणको भनाई छ । देशमा उत्पादन बढी भएता पनि घर सम्म बिजुली पुर्‍याउन समस्या रहेको लम्सालले स्वीकार गर्नुभएको छ ।

पूर्व पश्चिम १००० मेगावर्ट क्षमताको सिस्टमको निर्माण गर्न सकेमा देशैभर सिस्टम फेल हुने समस्या समाधान गर्न सकिने लम्सालको भनाई रहेको छ । बिजुली प्रसारण लाइन एक ठाउँमा अवरुद्ध हुँदा देश भरीको सिस्टममा समस्या आउने उहाँले बताउनुभएको छ । सहरी क्षेत्रमा विद्युत् प्रणालीमा भएको लोड वृद्धिलाई मध्यनजर गर्दै प्राधिकरणले सेवा प्रणाली सुधार कार्य थालनी गरेको छ ।  विद्युत् आपूर्तिमा लामो समयसम्म पनि अवरोध आएमा वितरण केन्द्रमा जानकारी गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ ।