त्रिविले नियम फेरेपछि समस्या : परीक्षा दिनबाट कैदीबन्दी वञ्चित

भरतपुर,३२ श्रावण। भरतपुर कारागारभित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएका छन् । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बिए दोस्रो वर्षमा भर्ना भई परीक्षा फाराम भरेका अभिषेक धमला परीक्षा दिनबाट वञ्चित भएका हुन् । त्रिभुवन विश्वविद्यालयले अहिले बिएतर्फ दोस्रो परीक्षा सञ्चालन गरिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) र कारागार व्यवस्थापन कार्यविधि फरक पर्दा धमला परीक्षा दिनबाट वञ्चित भएका हुन् । यसअघिका वर्षहरुमा कारागार नै परीक्षा केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिने व्यवस्था थियो । तर, यसवर्ष त्रिवि प्राज्ञिक परिषद्ले कारागार परीक्षा केन्द्र स्थगनको निर्णय गरेपछि समस्या भएको हो । यो निर्णय परिषद्बाट ०७९ चैत २९ गते भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

पनिकाले यस विषयमा देशका सबै सम्बन्धित क्याम्पसमा वैशाख ११ गते परिपत्र गरेर जानकारी दिएको हो । पनिकाले परीक्षामा सामेल हुन चाहेमा सुरक्षा निकायको समन्वयमा परीक्षा केन्द्रबाटै परीक्षा दिनुपर्ने भनी परिपत्र गरेको छ । सुरक्षा निकायको जिम्मेवारीमा मात्रै परीक्षा दिने व्यवस्था परिपत्रमा उल्लेख छ ।

धमलाले बिए प्रथम वर्षको परीक्षा भने कारागारबाटै दिएका थिए । यसवर्ष पनि परीक्षा दिन पाऊँ भनी उनले कारागार प्रशासनलाई निवेदन गरेका थिए । कारागार प्रशासनले पनिकाबाट कारागार केन्द्र स्थगन भएको जानकारी उनलाई दिएको थियो ।

त्यसपछि धमलाको परीक्षाका लागि उनको केन्द्र तोकिएको मैयाँदेवी कन्या क्याम्पसमा जाँच दिने तयारी पनि नभएको होइन । तर, सुरक्षा समन्वय नहुँदा उनी परीक्षा दिनबाट वञ्चित भए । पहिलो परीक्षा साउन २८ गते थियो । दोस्रो परीक्षा आज बिहीबार रहेको छ । ‘पहिलो परीक्षा छुटेको छ, दोस्रो पनि दिने व्यवस्था भएको छैन’, भरतपुर कारागार प्रशासनले भन्यो ।

कारागार व्यवस्थापन कार्यविधि, २०७३ को परिच्छेद ३ को दफा ११ (९) मा कारागार नै केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिन पाउने व्यवस्था छ । तर पनिकाले केन्द्र स्थगन गरेपछि आफूहरुले परीक्षा सञ्चालन गर्न नसकेको भरतपुर कारागारका निमित्त प्रमुख लेखनाथ पौडेलले भन्नुभयो ।

परीक्षाको सहजताका लागि पहल गर्दा वीरेन्द्र बहुमुखी क्याम्पसले साउन १४ गते कारागारलाई पत्र लेख्दै पनिकाको निर्णयअनुसार केन्द्र तोकिएको क्याम्पसबाट मात्र परीक्षा लिन सकिने बताएको छ । क्याम्पसप्रमुख प्राध्यापक दयाराम पौडेलले पनिकाको परिपत्र उद्धृत गर्दै कारागारमा परीक्षा लिन नसकिने अवगत गराएका छन् ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले सुरक्षा संवेदनशीलताका कारण परीक्षा केन्द्रमा लगेर परीक्षा दिने वातावरण मिलाउन नसकिएको बताए । ‘कारागारमा भएका सुरक्षाकर्मीले त्यहीँ सुरक्षा दिने कि परीक्षार्थीको सुरक्षामा लाग्ने भनेर हामीलाई व्यवस्थापन गर्न गाह्रो भएकाले परीक्षामा सहभागी गराउन नसकिएको हो’, एसपी कार्कीले भन्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले कैदीबन्दीले शिक्षाको अधिकारबाट वञ्चित हुनु मानवअधिकारको उल्लङ्घन भएको बताउनुभयो । उहाले भन्नुभयो , ‘जे–जसरी हुन्छ परीक्षा दिने वातावरण बनाउनुपर्छ ।’