गौर हत्याकाण्डमा पीडितको पक्षमा १७ वर्षदेखि निरन्तर लडिरहेको छुः प्रभु साह

काठमाडौं, ३२ श्रावण । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डले रौतहटको छविलाई विगारेको दाबी गरेका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गौर हत्याकाण्डको छानविनका लागि आफू १७ वार्षदेखि निरन्तर लागिरहेको बताए ।

‘गौर हत्याकाण्डमा पीडितको पक्षमा म छु । गौर हत्याकाण्डले रौतहटको छविलाई विगारेको छ । धुमिल बनाएको छ, त्यसलाई सफा गर्नुपर्छ भन्ने पक्षमा छु । रौतहटको जनताले मलाई पुरै साथ दिइरहेका छन् । हत्याराहरु आतंकित छन्,’– उनले भने ।

पीडितहरु र राज्यको बीचमा अपराधीलाई कारबाही गर्छौं भन्ने सम्झौता भएको उनले बताए । सरकारले पीडितहरुसँग् अपराधीलाई कारबाही गर्छौं, न्याय दिन्छौं भनेर प्रतिवद्धता व्यक्त गरेको र राज्यले त्यो पुरा गर्नुपर्ने उनको माग छ ।

‘म १७ वर्षदेखि नै लगातार लडिरहेको छु । म रौतहटको जनप्रतिनिधि भएको नाताले त्यो भूगोलमा भएको घटनाका पीडितहरुले न्याय पाउन सकेनन्,’– उनले भने ।

घटनापछि लगत्तै सरकारले उच्चस्तरीय न्यायीक छानविन समिति बनाएपनि उक्त समितिले दिएको प्रतिवेदनको अक्षरस पालना हुन नसकेको उनको आरोप छ । त्यसपछि माधव नेपाल प्रधानमन्त्री भएको बेलामा प्रहरीमा जाहेरी दर्ता भएको बताउँदै उनले यस विषयमा प्रहरीले निश्पक्ष छानविन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

यदाकदा उक्त प्रकरणमा आफ्नो नाम पनि जोडिएको प्रसंगमा उनले छानविन गर्न सरकारलाई चुनौति दिए । पूर्वमाओवादी नेता रहेका साहले आफूले तत्कालीन जनयुद्धमा समेत कसैलाई एक थप्पडसमेत नहानेको दाबी गरे ।

‘२०६३ साल चैत्रमा जब घटना घट्यो त्यतिबेला नै सरकारले आयोग बनायो । आयोगले दिएको रिपोर्ट पनि कार्यान्वयन भएन । उच्चस्तरीय न्यायीक समिति थियो । त्यसले दिएको रिपोर्टको अक्षरस पालना गर्नुपर्ने हो नि ?’ उनले प्रश्न गरे ।