हाम्रो र अमेरिकाको इन्जिनियरिङ पाठ्यक्रम उस्ताउस्तै : पोखरा विश्वविद्यालय

कास्की,३२ श्रावण। पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले काठमाडौंमा इन्जिनियरिङ अध्ययनका अवसर सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ ।

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे आयोजना गरिएको सोमबारको कार्यक्रम कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीको लागि लक्षित थियो । कक्षा १२ को अध्ययन सकेर इन्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा हालैमात्र अमेरिकाको हावार्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट श्रृङ्खला खतिवडाको समेत उपस्थिति थियो । उनले आफ्नो अनुभवका साथै विश्वभर ईन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा बताइन् ।

स्नातकोत्तर गरेलगत्तै नेपाल फर्किएकी खतिवडाले भविष्यका इन्जिनियर बन्न चाहनेहरुलाई नेपालमै प्रचुर सम्भावना रहेको उल्लेख गरिन् । साथै देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्याहरु समाधान गर्न चाहनेहरुका लागि इन्जिनियरिङ विषय उत्कृष्ट रहेको नेपाल ईन्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले बताए ।

उनले ईन्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तैउस्तै रहेको समेत बताए । नेपाली विश्वविद्यालयहरुले प्रयोगात्मक विषयमा कम जोड दिने र बजारले मागेको सिप दिन नसेको हुँदा बजारमा काम पाउने गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रमलाई परिस्कृत गर्नुका सार्थै इन्टर्नसिपलाई समेत अनिवार्य गरेको छ । पहिलोपटक पोखरा विश्वविद्यालयले इन्जिनियरिङका सबै विषयका लागि तीन महिने इन्टर्नसिपको व्यवस्था गरेको हो ।

‘हालैमात्र सबै इन्जिनियरिङ कार्यक्रमहरुको पाठ्यक्रमलाई रिभिजन गरेका छौँँ । सैद्धान्तिक विषयका साथ साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौं,’ विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार ठगुराठीले भने ।