स्वास्थ्य राम्रो भएपछि सक्रिय हुँदै राष्ट्रपति पौडेल, छिट्टै सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौं, ३२ श्रावण । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि विस्तारै सक्रियता बढेको छ । उनले यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले दुवै नेतासँगको भेटमा राजनीतिक गतिरोध (संसद्को अवरोध) बारे चासो राखेका थिए ।

उनले आजै साँझ वा भोलिसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेसका अरु नेताहरुसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यसको अलावा उनले संसद्को गतिरोध अन्त्य र टिआरसी टुँगो लगाउनको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग सामूहिक छलफलको तयारी गरेका छन् ।

उनको सचिवालयले भेटघाटको लागि दलका नेताहरुसँग सम्पर्क बढाएको छ । यो बीचमा राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गरिसकेका छन् । शितलनिवासमा सर्वदलीय बैठक बोलाउने तयारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।