एमालेले अनावश्यक बखेडा झिक्याे, संसदमा जनताकाे आवाज नै थुन्ने काम भयो : अर्थमन्त्री

महेन्द्रनगर (धनुषा), ३२ श्रावण । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् ।
आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे ।
नेपाली कांग्रेसका प्रवक्ता डा महतले प्रतिपक्षी दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।
मन्त्री डा महतले संसदमा गतिरोध उत्पन्न गरिएका कारण संसदमा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल पनि गर्न नसकिएको बताए ।

मन्त्री महतले आर्थिक स्रोत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराएका छन् ।
उनले भने, ‘आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन । यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।’
कांग्रेस प्रवक्ता डा महत नेपाली कांग्रेस सिरहाको सम्मेलनमा सहभागी हुन बिहीबार यहाँ आएका हुन् ।
Source: N24