गठबन्धन टुट्दैछ भनेर हल्ला फिँजाउनेहरूलाई प्रचण्डको जवाफ

रामेछाप, १ भाद्र । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालकाे सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताएका छन् । बिहीवार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन टुट्याे भनेर हल्ला फिजाउने र भ्रम छर्ने काम भएको बताए । उनले जवाफ दिँदै याे गठबन्धन बलियो रहेको बताए ।

कार्यक्रममा उनले भने, ‘हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं । त्यसबेला रगतकाे भेल बग्याे र माओवादी र जनताको सम्बन्ध चिसियाे । अब रगतको क्रान्ति हाेइन समृद्धि र समाजबादका निम्ति शान्ति ल्याउन काम गर्ने अठाेट गर्नुभयाे । विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं ।’

प्रधानमन्त्री दाहालले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजानु आजको आवश्यकता रहेकाे समेत बताए ।

उनले अब जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन लागिपर्ने दाबी गरे । ‘आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा आउँछ । त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो हुँदैन,’ उनले भने ।

सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताए । ‘यो पटक राम्रो काम गरेर जनताको मन जित्ने कामबाहेक अन्य कुनै काम गर्नु छैन,’ उनले भने ।

एउटै जलविद्युत् आयोजना १० हजार मेगावाटसम्मका बनाउन सके मुलुकले आर्थिक समृद्धिको बाटो हिँड्न सक्ने र समृद्ध बन्ने पनि उनले बताए ।

दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल र माओवादीका नेता जनार्दन शर्मालगायतका नेताहरूको उपस्थिति थियो । अनिता थापा मगर

Source: N24