चितवनको भरतपुरमा खुल्यो आरम्भ कलेज,बिआइएम र बिएचएम पढाई हुने

चितवन,२ भदौ । चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउने आज (शनिवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

दुवै संकायको अध्यापन चार बर्षको हुने कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो ।

बिआइएम र बिएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले बताउनुभयो । उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ ।

कलेजले दुवै संकायमा ६६/६६ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ । चितवन र नवलपुरलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले विद्यार्थीका लागि गाडीको समेत व्यवस्था गरेको छ । यहाँ पढ्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड ३२ लाख बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ । कलेज स्थापना पछि यस बिषय अध्ययनका लागि काठमाण्डौं जानुपर्ने बाध्यता अन्य हुने विश्वास कलेजको छ । कलेजमा दुई दशकदेखि अध्यापन गराउँदै आएका शिक्षकहरुले पढाउने प्रिन्सिपल सिवाकोटीले बताउनुभयो ।