चितवन, २भदौ । नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्।
आउँदो चुनावी साधारण सभाको लागि भेटघाटमा व्यवस्त रहेका चन्दले नेपालका दुई रंगशाला भारतले बनाउने प्रस्ताव गरिएको बताएका हुन्। संघीय सरकारले गत २०७९ वैसाख २६ मा फाप्ला मैदानलाई विकास समिति मोडेलमा बनाउने योजना बनाएको थियो। सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्षमा अभियन्ता सुवास शाहीलाई नियुक्त गरेको थियो।
सरकारले बजेटमै समावेश गरेर फाप्लालाई रकम विनियोजनसमेत गरेको छ। त्यसैगरी धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको गौतम बुद्ध क्रिकेट रंगशला भने लामो समयदेखि अलपत्र छ। यसै वर्ष मात्र सरकारले रंगशालाको बाँकी काम पुरा गर्नेगरी जिम्मा लिएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गत असार १० गते संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गौतबुद्ध रंगशालाको स्वामित्व सरकारले लिने बताएका थिए।
तीन अर्ब ५५ करोड लागत अनुमान गरिएको यो रंगशालाको ३५ प्रतिसत काम सम्पन्न भएको दाबी गरिएको छ । तर ५४ करोड खर्च हुँदा १६ करोडभन्दा धेरै ऋण लागेको भन्दै फाउन्डेसन निर्माणबाट पछि हटेको थियो।