नारायणगढका मापदण्ड विपरितका बधशाला हटाएर ब्यवस्थित बधशाला निर्माणका लागि छलफल सुरु

चितवन, ४ भदौं । भरतपुर महानगरपालिका ब्यबस्थित पशु बधशाला निर्माण गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।

बजारमा भएका ससाना तर अब्यबस्थित रुपमा मापदण्ड बिपरित सञ्चालन भएका पशु बधशालालाई मापदण्डअनुसार सञ्चालन गर्ने गरी निर्माण गर्ने तयारीमा महानगरपालिका जुटेको हो ।

प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा ब्यबस्थित पशु बधशाला निर्माण हुनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले महानगर विधि र बिधानमा रहेर ब्यबस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा अगाडि बढिसकेको बताए । ब्यबस्थित पशु बधशाला निर्माण समितिका सयोजक समेत रहेका उपमेयर अधिकारीले अबको केही वर्ष भित्रैमा महानगरबासीहरुले आशा गरेअनुसारको ब्यबस्थित पशु बधशाला पाउने प्रष्ट पारे । ‘हामी गृहकार्यमा जुटिरहेका छौ, विभिन्न चरणहरुमा प्रारम्भिक कार्यहरु भइरहेका छन्’ नगर उपमेयर अधिकारीले भने ।

भरतपुर महानगरपालिका र एनिमल नेपालको संयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु बधशाला तथा मासु ब्यबसाय ब्यबस्थापन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रीय कार्यक्रम ब्यवस्थापक सुरक्षणा राणाले महानगर ब्यबस्थित पशु बधशाला निर्माण कार्यमा जुटेकोमा खुसी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको उल्लेख गरिन् । एनिमल नेपालले काठमाडौ,चितवन र बारामा स्थानीय पालिकाहरुको सहयोग र समन्वयमा पशु चौपायाको हकहितका सवालमा काम गर्दै आइरहेको छ ।

भरतपुर महानगरपालिकामा अहिले ५ वटा पशु बधशालाहरु रहेका छन् । चितवन जिल्लामा लगभग १० वटा बधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचर्यले जानकारी दिनु भयो । भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका बधशालाहरु सबै मापदण्ड बिपरित छन् तर रत्ननगर र खैरहनी नगरपालिकाको बीचमा निर्माण गरिएको मिलिजुली बधशाला भने केही मात्रमा हेर्न लायक रहेको आचर्यको भनाइ छ ।

पशु बधशाला र मासु जाँच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरी पशु सेवा विभागले पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका स्वीकृत गरेको छ ।