काठमाडौँ, ५ भाद्र । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सीआईबीले बुझाएको अनुसन्धान फाइलमा के–के समेटिएको छ त ? प्रतिवादीहरु को–को छन् ? अनुसन्धान फाइलमा उच्च ओहोदामा बसिसकेका मध्ये कुन–कुन व्यक्तिको नाम समेटिएको छ त ?
बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वलिकको कार्यालयमा पुगेसँगै अब यसमाथिको अध्ययन र अध्ययन पश्चात मुद्दा दर्ताको प्रकृया शुरु हुँदैछ ।
ओहोदामा रहेका क-कसको नाम छ ?
– ललिता निवासको जग्गा हिनामिनामा तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई समेत सीआईबीले प्रतिवादी बनाएको छ ।
– प्रतिवादी बनाइएका पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी हुन् ।
– उनीहरुलाई फरार सूचीमा राखेर प्रतिवेदन बुझाइएको छ ।
– यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो ।
– त्यसबेला यी सबै धरौटी बुझाएर रिहा भएका थिए ।
अहिले प्रतिवेदनमा यि पूर्वमन्त्रीहरुलाई फरार सूचीमा राखिएपनि चन्द्रदेव जोशीले भने गत साउन २६ गते नै आफू फरार नरहेको बताउँदै जुनसुकै बेला सरकारी निकायलाई सघाउन तयार रहेको उल्लेख गरेका थिए । पूर्वमन्त्री जोशी सोमबार पनि बयानका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा हाजिर भएका थिए । तर सीआईबीले अनुसन्धान फाइल सरकारी वकिलकोमा पुगिसकेको भन्दै उनको बयान लिएन र उनी यसै फकिए । सीआइबीकै कार्यालयमा पुगेका पूर्वमन्त्री जोशीलाई सीआईबीको प्रतिवेदनले फरार देखाएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले यसअघि साउन २१ गते आदेश दिएको थियो । सर्वोच्चको आदेश आएकै दिन सीआईबीले यी तीन मन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालातबाट पक्राउ पुर्जी लिएको थियो । तर उनीहरुलाई पक्राउ गरिएको भने छैन । यसै प्रकरणमा हाल जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साहसँग भने सीआईबीको टोलीले बयान लिएकाे छैन ।
– यस प्रकरणमा मुछिएका उच्च ओहोदामा रहिसकेका व्यक्तिहरु मध्ये पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि हुन् ।
– माधव र बाबुरामसँग उनीहरुकै निवासमा आइतबार बेलुका पुगेर सीआईबीले बयान लिएको थियो ।
– तत्कालीन मुख्यसचिव लीलामणि पौडेल पनि ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका व्यक्ति हुन् ।
– सीआईबीले उनलाई पनि कार्यालयमै बोलाएर कागज गराउँदै छाडिसकेको छ ।
ललिता निवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित १७ जना पक्राउ परेका थिए । सञ्चार सचिव राउत भने छुटिसकेका छन् । कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी अदालतको स्टे अर्डरका आधारमा छुटेका छन् । ललिता निवास क्याम्पभित्रको १ सय ४३ रोपनी जग्गा किर्ते गरी हिनामिना गरेको अभियोगमा सीआईबीले प्रतिवादी बनाइएकाहरुसँगबाट करिब १० अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालले अब मुद्दा अगाडि बढाउने छ ।
source: N24