क्रसर उद्योगको रिपोर्टिङ गर्न गएका पत्रकार कुटिए

राैतहट, ५ भाद्र । मापदण्ड विपरित संचालित रहेको बृन्दावन नगरपालिका वाड नम्बर १ रमौली घाटमा अवैध रुपमा संचालित शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्न सोमबार दिउँसो सो उद्योगमा पुगेका पत्रकार राकेश यादव कुटिएका छन् । हिमालय टेलिभिजनका रौतहट संवाददाता यादवलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्नुका साथै कुटपिट गरिएको हो ।

पत्रकार यादवका अनुसार सो क्रसर उद्योगले अवैध रुपमा नदी उत्खखन गरिरहेको, मापदण्ड विपरित सञ्चालन भइरहेको, वातावरण प्रदुषण फैलाएको र कृषि बालीमा नोक्सानी पुर्याइरहेको स्थानियको गुनासोपछि रिपोर्टिङ्ग गर्न उद्योगमा पुगेका उनलाई उद्योगका ३ जना कर्मचारीले नियन्त्रणमा लिई गाली-बेइज्जती र कुटपिट गर्दै लछारपछार गरेका थिए । उनकाे क्यामेरा पनि फुटाइदिएको उनले बताए ।

‘म स्थानीयको गुनासो आएपछि सो क्रसर उद्योगको भिडियो खिचिरहेको थिएँ, अचानक क्रसर उद्योगबाट मानिसहरु आएर किन भिडियो खिचेको भन्दै मेरा क्यामेरा खोसेर फुटाइदिए,’ उनले भने , ‘मैले आफ्नो परिचय दिँदै म पत्रकार हो भन्दा पनि उल्टै मलाई लछारपछार गरेर आक्रमण गरे । त्यसपछि केही स्थानीय आएर मलाई उद्धार गरेपछि मैले भागेर ज्यान जोगाएँ ।’

यादवको जाहेरीको आधारमा आक्रमणकर्ता सोही उद्योगमा कार्यरत महोत्तरी जिल्लाका बर्दिबास नगरपालिका वार्ड नम्बर १४ बस्ने राजदेव ठाकुर, सर्लाहीको बरथवा नगरपालिका वार्ड नम्बर १८ बस्ने महेश चौधरी र वृन्दावन नगरपालिका वाड नम्बर ४ हरैया बस्ने राधेश्याम यादवलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

आक्रमणबाट घाइते भएका यादवको चन्द्रपुरस्थित सिम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पत्रकार आक्रमणको सवर्त्र निन्दा भइरहेको छ । नेपाल पत्रकार महासंघ रौतहट, प्रेस चौतारी, प्रेस युनियन , प्रेस सेन्टर लगायतका संस्थाहरुले घटनाको निन्दा गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले क्रसर माफियाबाट पत्रकार कुटिनु गम्भीर घटना भएको भन्दै घटनामा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले एक साताभित्र मधेस प्रदेसको सप्तरीमा सौरभ यादव, महोत्तरीमा विजय कुमार सिंह र रौतहटमा राकेश यादवमाथि कुटपिट र दुर्व्यहार हुनुले मधेश प्रदेशमा फेरि पत्रकार असुरक्षित भएको भन्दै पत्रकारको सुरक्षामा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिनाले पत्रकार आफै असुरक्षित भए समाजका विकृति , विसंगति माथि आवाज उठाउने अभियान प्रभावित हुने भएकाले राज्यले पत्रकारको सुरक्षाको ग्यारेन्टि गर्नुपर्ने माग गरे । उनले आफ्नो कर्तुत लुकाउन पत्रकार आक्रमण गर्ने व्यक्ति र उद्योग उपर छानविन गरी दोषीलाई कारवाही गर्न राज्यका निमाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।

 

Source:N24