भरतपुर, ५ भाद्र । सोमबार प्रकाशित ‘अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि’ शीर्षकको समाचारलाई लिएर चितवन पोष्ट दैनिकलाई धम्की दिनुका साथै कार्यालयभित्रै हुलहुज्जत गरिएको छ । साउन ३१ गते अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा सातवटा सवारीसाधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । बस चालकको स्वास्थ्य परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको थियो ।
सोही समाचारको विषयमा अक्सफोर्ड कलेजले मंगलबार केही युवाहरु परिचालन गरी धम्की दिएको छ । घटनालाई लुकाउन कलेज सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्टको कार्यालयमा घुसेर धाकधम्की दिनुका साथै हुलहुज्जत गरेको हो ।
घटनापछि चितवन पोष्ट दैनिकले एक विज्ञप्ति जारी गरी समाचारको विषयमा सञ्चारमाध्यममै घुसेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतङ्कित पारिएको बताएको छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिँदा असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए ।
‘समाचारमाथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चारमाध्यमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइ छ’, विज्ञप्तिमा भनिएको छ ।
सोही समूहले नारायणी अनलाइनको कार्यालयमा समेत पसी हुलहुज्जत र धम्की दिएको थियो । सो अनलाइनमा प्रकाशित समाचारको विषयमा असहमति जनाउँदै सो समूहले गरेको अभद्र व्यवहारप्रति अनलाइनका प्रधान सम्पादक राजु चौधरीले एक विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका छन् ।
अक्सफोर्ड कलेजका प्रिन्सिपलसमेत रहेका भण्डारीले विज्ञप्ति जारी गरी आफ्नो बस चालकले लागू पदार्थ सेवन नगरेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बस चालकको स्वास्थ्य रिपोर्टमा गाँजा खाएको पुष्टि भएको बताए । ‘बस चालकको रिपोर्टमा गाँजा खाएको पुष्टि भएको छ । उनले भने, ‘घटनाको विषयमा थप अनुसन्धान हुँदैछ ।’
अक्सफोर्डकै अर्काे बसका मापसे
गरेका चालकलाई जरिवाना
यसैबीच नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७९३० नम्बरको बस चालकले मदिरा सेवन गरी सवारी चलाएको पाइएपछि जरिवाना गरी छाडिएको छ । गत साउन ३२ गते साँझ साढे पाँच बजेको समयमा अक्सफोर्ड कलेजको ना १ क ७०३० नम्बरको बसको चालकले मदिरा सेवन गरी सवारी चलाउँदा गैँडाकोट–५, कालीगण्डकी चोकमा सो बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्रीको अवस्था सामान्य रहेको र उनको उपचार खर्च बेहोर्ने सर्तमा बस र चालकलाई छाडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अक्सफोर्ड कलेजका बस चालकले मदिरा सेवन गरी सवारी चलाएको भेटिएपछि कलेजमा रहेका सबै स्कुल बसका चालकहरुलाई जम्मा गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा एकपटक र जिल्ला प्रहरी कार्यालय नवलपुरमा एकपटक गरी दुईपटक मापसेसम्बन्धी कक्षा लिएर सम्बन्धित सवारी चालकलाई जरिवाना गराई छाडिएको थियो ।
पत्रकार महासंघ र प्रेस चौतारीद्वारा निन्दा
चितवनका दुई सञ्चारमाध्यमको कार्यालयमा पसेर धाकधम्की दिनेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवन शाखाले आग्रह गरेको छ । चितवन पोष्ट र नारायणी अनलाईनको कार्यालयमा पसेर सञ्चारकर्मीलाई धाकधम्की दिने कार्यको महासंघको घोर निन्दा पनि गरेको छ । घटना लुकाउन अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्याल र नारायणी अनलाइनका प्रधान सम्पादक राजु चौधरीलाई कार्यालयमै पुगेर धाकधम्की दिनुका साथै चेतावनीपूर्ण भाषामा आतंकित पारेका थिए ।
टिकौली दुर्घटनाको कारक अक्सफोर्डका बस चालकले गाँजा खाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि दुई सञ्चारमाध्यममा पुगेर धाकधम्की दिइएको हो । ‘कुनै पनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चारमाध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवम् चेतावनीपूर्ण भाषामा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ’, महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । महासंघ स्वतन्त्र पत्रकारितको पक्षमा सँधै अडिग रहने बताउँदै ज्ञवालीले दोषीमाथि कारबाही गरी सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।
त्यस्तै समाचारको विषयलाई लिएर पत्रकारहरुलाई आतंकित पार्ने कार्यको नेपाल प्रेस चौतारी चितवन शाखाले भत्सर्ना गरेको छ । चौतारीले सोमबार विज्ञप्ति जारी गरी साउन ३१ गते टिकौली जंगलमा अक्सफोर्ड गाडीको ठक्कर दिई भएको दुर्घटनामा चालकले गाँजा सेवन गरेको पुष्टि भएको सन्दर्भमा प्रकाशित समाचारलाई लिएर कलेज प्रशासनको निर्देशनमा गरिएको हर्कत निन्दनीय भएको बताएको हो ।
चितवन पोष्ट र नारायणी अनलाइनका सञ्चारकर्मीलाई आतंकित पार्दै दुव्र्यवहार गर्ने कार्यको भत्सर्ना गर्दै चौतारीले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो छोडेर हुलहुज्जत गर्दै धम्की एवम् चेतावनीपूर्ण भाषा बोल्दै आतङ्कित पार्ने कार्य स्वतन्त्र पत्रकारिता माथिको नाङ्गो आक्रमण हो भन्ने हाम्रो ठहर छ ।’