शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो: रवि लामिछाने

काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो । साक्षी बस्नुको अर्थ देखिएन । हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ ।’ सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको उनको भनाइ छ । ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो । ‘ओली अस्वस्थ भएकोले बैठकमा आउन नपाएको’ लामिछानेको भनाइ छ ।

सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए । यसको मस्यौदा पनि तयार भइसकेको छ । आज जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन सकेन । प्रतिनिधि सभा बैठक पनि बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ ।