गठबन्धन स्वीकार्य छैन, चुनाव लड्न गठबन्धन आवश्यक छैन: प्रदिप पौडेल

चितवन, ५ भदौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले गरेको महानगर सम्मेलनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसका लागि कुनै पनि चुनाब लड्न गठबन्धन आबश्यक नभएको बताएका हुन् ।
उनले अन्य राजनीतिक दलहरुलाई कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने दिवा सपना नदेख्न पनि चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले सरकार भ्रष्टचारको जालोबाट पन्छिन नमिल्ने तर्क राखे । भ्रष्टाचारको जालो पन्छ्याउन नेपाली कांग्रेस अग्रसर रहेको उल्लेख गर्दै पौडेलले सरकार पनि यो विषयमा गम्भीर हुनुपर्ने बताए । ‘भ्रष्टाचारको विषयमा नेपाली कांग्रेस जहाँ र जस्तोसुकै अवस्थामा पनि उभिन तयारी छ’, पौडेलले भने ।

नेता पौडेलले पार्टीको पद्धति नै खराब भएको प्रती संकेत गर्दै पद्धति नै गुट उपगुट बनाउने खालको रहेको समेत प्रष्ट पारे । उनले यो पद्धति नहटे सम्म गुटबन्दीको अन्त्य नहुने बताए । ‘अब नयाँ पद्धतिको बिकास गराइ आमूल परिवर्तन ल्याउन जरुरी छ’, पौडेलले भने ।

त्यस्तै सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धनका कारण पार्टीलाई काम गर्न अप्ठ्यारो भएको टिप्पणी गरे । उनले सुशासन कायम गर्न र गराउन नेपाली कांग्रेस कटिबद्ध छ तर त्यसलाई अगाडि बढाउने सवालमा गठबन्धन तगारोको रुपमा रहेको बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी अब नयाँ शिराबाट अगाडि बढनुपर्ने आबश्यकता रहेको बताए । पार्टी भित्र अब मित्रताको व्यबहार हुन जरुरी रहेको सभापति खनालले बताए ।

त्यस्तै महानगर सभापति चित्रसेन अधिकारीले महानगर सम्मेलन पार्टीको सिपाहीका लागि कोशेढुंगा साबित हुने बताए । सम्मेलनले नेपाली कांग्रेसको मर्म र सिद्धान्तलाई आत्मसात गरेर भावी दिनहरुमा समाजमा सुशासन कायम गराउन मद्दत पु¥याउनेमा बिश्वास व्यक्त गरे ।

सम्मेलनमा नगर सचिब कृष्ण प्रसाद बगालेले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद कँडेलले प्रस्तुत गरेका थिए ।

महानगर सम्मेलनमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ,बागमती प्रदेश सदस्य बिनु रायमाझी,महाधिवेशन प्रतिनिधि पार्बती शाह, महानगर समितिका निबर्तमान सभापति भरत अधिकारी,जनप्रतिनिधिहरुको तर्फबाट भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ,पार्टीको वडा न ४ का सभापति नारायण अधिकारीलगायतले बोलेका थिए । नेपाली कांग्रेस चितवनले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी समेत गरेको छ ।