‘अब मलाई नखोज्नु’ भन्ने सन्देश लेखेर व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता

चितवन, ६ भाद्र । बुटवलका औषधी व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता भएका छन् ।बुटबलबाट घर छाडेर हिडेका व्यवसायी ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका हुन् ।

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरिरहेका ५३ वर्षीय ढकाल शनिबार घरबाट हिंडेपछि सम्पर्कविहिन भएका थिए । उनले बुटवलमा दुई दशक अगाडिदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी औषधि व्यवसायय गर्दै आएका थिए । मोबाइल र घडी समेत घरमा छाडेर चितवन आएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शनिबार राति चितवनमा आएर नारायणगढको होटलमा बसेका ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका छन् । उनले चितवनबाट आइतबार कुरियर गरेर कपडासहित ‘अब मलाई नखोज्नु’ भनी सन्देश घरमा पठाएका थिए ।

आइतबार साँझ ७ बजेपछि नारायणी पुलको सीसीटीभी फुटेजमा देखिएका ढकाल पुलबाट कहाँ गए केही पत्तो नभएको नारायणगढ वडा प्रहरी कार्यालय र गैँडाकोट प्रहरीले जनाएको छ । नारायणगढबाट पुल हुँदै गैँडाकोटतिर लागेका उनी गैँडाकोटतिर पुगेको कुनै प्रमाण नभेटिएपछि पुलको बीचबाटै हराएका हुन् । ढकाललाई खोज्न चितवन आएका उनको परिवार वडा प्रहरी कार्यालय पुगेर सीसीटीभी फुटेज हेरेको तर पुलको बीचबाट कता गए भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

पुलमा हिड्ने स्थानीयले हाफ पाइन्ट लगाएको एक जनाले पुलबाट हाम फालेको सूचना गैँडाकोट प्रहरीलाई दिए पनि आजसम्म पुष्टि हुन सकेको छैन । तर, कतै हामफाल्ने व्यक्ति उनै व्यवसायी त होइनन् भनेर आफन्तहरुले आशंका व्यक्त गरेका छन् । चितवन प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।