शङ्कर कँडेल आत्महत्या प्रकरण : तीन हप्तादेखि अस्पतालमै आरोपित रूङ्टा

भरतपुर, ७ भाद्र ।  व्यवसायी एवम् नेता शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान आदेश भएका व्यवसायी प्रदीप रूङ्टा अझै अस्पतालमा नै छन् । उनी हाल चितवन मेडिकल कलेजमा उपचार गराइरहेका छन् ।

साउन १८ गते न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रूङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो । सोही दिनदेखि उनी उपचार गराइरहेका छन् । उच्च अदालतको थप आदेश आइनसकेकाले उनी अदालतले जेलमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पतालमा छन् । सुरूमा भरतपुर अस्पताल भर्ना भएका उनी पछि चितवन मेडिकल कलेजमा भर्ना भए । यस मुद्दामा उच्च अदालत हेटौँडाले सक्कल मिसिल झिकाउने आदेश गरेको छ । उच्च अदालत हेटौँडाका सूचना अधिकारी केशवराज कौशिकले जिल्ला अदालतबाट भएको आदेशसम्बद्ध मिसिलको सक्कलै प्रति झिकाउने भनी आदेश भएको र भदौ ७ गते बिहीबार पेशी चढेको खण्डमा उच्च अदालतबाट थप आदेश आउन सक्नेछ ।

कैफियत प्रतिवेदन र सक्कल मिसिल झिकाउने आदेश उच्च अदालतबाट भइसकेको छ । अर्का आरोपित जीवन रावल जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएकोमा गत असार २८ गते उच्च अदालत हेटौँडाको आदेशले ५ लाख ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन् । उनी तारेखमा छन् ।

अनमोल फिड्स रूङ्टाले अर्का व्यवसायी शंकर कँडेलसँग किनेका थिए । यही किनबेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स)मा कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए ।