आर्थिक मन्दीले चनौली बजारमा सटर खाली

विनोद अधिकारी
चनौली, ७ भाद्र । पश्चिम चितवनको मुटु मानिने चनौलीमा व्यावसायिक प्रयोजनका अधिकांश सटर तथा घर खाली हुन थालेका छन् । कोरोना र त्यसपछि चुलिएको आर्थिक मन्दीका कारण दुई वर्षदेखि मुख्य सडक छेउछाउकै प्रायः सटर तथा घर खाली रहेका हुन् ।
विगतमा बजार क्षेत्रका घर तथा सटर एक दिन पनि खाली नहुने भए पनि अहिले भने दुई वर्षदेखि सटर भाडामा नगएर घर धनी हैरान छन् । एक वर्ष अघि सम्म चनौलीमा एउटा सटर पाउन वर्षौँ कुर्नुपर्ने बाध्यता थियो । सटरका लागि अग्रिम भुक्तानी दिएर वार्षिक १० प्रतिशत भाडा बढाउने सम्झौताको कागज व्यवसायीले घरधनीलाई सहजै गरिदिन्थे । घरधनीहरूले मागेको भाडा समयमै पाउँथे । तर, अहिले अवस्था फेरिएको छ ।
हिजोआज चनौलीको मुख्य सडक, भिमनगर स्कुल क्षेत्र, डेरी चोक क्षेत्रका धेरै घर तथा सटर भाडामा रहेको सूचना घरधनीले सटरमै टाँस्न थालेका छन् । घरधनीले कोरोनापछि आर्थिक गतिविधि घटेकाले व्यापारिक प्रयोजनका घर तथा सटर भाडामा नपाएका हुन् ।
कोठा भाडामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरू जताततै देख्न पाइन्छ । कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभए पनि कोठा खाली भएका धेरै सूचनाहरू घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ । युवाहरू विदेश जानको लागी पैसा खर्च हुने हुँदा देशमा आर्थिक सङ्कट आएको व्यापारी बताउँछन् । देशमा यही हिसाबले आर्थिक सङ्कट बढ्दै गएमा देश वृद्धाश्रम हुने व्यवसायी ऋषिराम लामिछानेले बताउनुभयो । “अबको १० वर्ष पछि चनौलीमा ५० प्रतिशत सटर खाली हुन्छ“ लामिछानेले भन्नुभयो ।
व्यवसाय नभएपछि मानिसहरू विदेश जाने र व्यापार नभए पनि घर बेटीहरूलाई भाडा दिनै पर्ने बाध्यताका कारण सटर भाडामा भन्ने सूचना देखिएको स्थानीय व्यापारी नवराज आचार्यले बताउनुभयो । “विदेशको रोजगार छोडेर नेपाल आए अब व्यवसाय हुन छोड्यो के गर्ने फेरी विदेश नै त जाने होला ?“ आचार्यले गुनासो गर्नुभयो ।