चितवन, ७ भाद्र । नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आईपुगेको छ । बिहीबार भरतपुर महानगरका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तुँदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले फिल्डको निरीक्षण गरेको छ ।
पुल महाशाखाका उपनिर्देशक नरे शमान शाक्यअनुसार सिग्नेचर ब्रिजको लागि अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ ।
सिग्नेचर ब्रिज निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले डिजाईनको काम भईरहेको कम्पनीले जनाएको छ । ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणको लागि भरतपुर महानगरपालिकाले पहल गरिरहेको र अबको केही समयपछि यो कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गरे ।
सिग्नेचर ब्रिज, राष्ट्रिय राजर्माग जोड्ने ३ वटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने बताए । यसैबीच पुल महाशाखाको टोलीले भरतपुर र नवलपुर जोड्ने पुल निर्माण गर्न २ वटा स्थानको अवलोकन गरेको छ । महाशाखाले भरतपुर २६ को घोसराघाटबाट नवलपुरको प्रगति नगर जोड्ने पुलको स्थलगत गरेको छ । यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको थियो ।