ड्यूटीमा खटिएका इन्स्पेक्टरमाथि बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ

झापा, ८ भाद्र । शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे।४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले अचानक प्रहार गरेका थिए  ।

घाइते भएका प्रहरी निरीक्षक कटुवालको स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचार बिएण्डसी अस्पताल बिर्तामोडमा भइरहेको छ ।

साथै मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ ।  बिहीबार भएको यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।