इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध विद्यार्थी प्रर्दशन

काठमाडौँ,८ भाद्र । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले डिन कार्यालय पुल्चोकदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् । डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखिएको छ । प्रर्दशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी थिए । यी विद्यार्थी संगठनले यसअघि पनि छुट्टाछुट्टै रूपमा शुल्क वृद्धिको विरोध गर्दै खारेजीको माग राख्दै आएका छन् ।

इन्जिनियरिङ डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको जनाएको छ । ३ लाख १८ हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ । अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागू हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो ।

डिन शशिधरराम जोशीले आर्थिक अवस्थाले संस्थान सञ्चालन गर्न नसक्ने अवस्थामा रहेकाले शुल्क वृद्धिको प्रस्ताव गरिएको जनाए । ‘विद्यार्थीले विरोध जनाएपछि शुल्क वृद्धिको पुनरावलोकन गर्न वार्ता समिति बनेको छ, शुल्क त बढाउनु नै पर्नेछ, तर कति बढाउने विद्यार्थीसँग पनि वार्ता गरेर टुंगोमा पुग्छौं,’ उनले भने । आईओईले साउन २५ गतेको निर्णयअनुसार शुल्क बढाइएको जनाएको छ ।