नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

कैलाली, ८ भाद्र । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ ।

उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो ।

सुक्ष्म तरिकाले फोहोरको वर्गीकरण गरी फोहोरको पुनः प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको धनगढी उप–महानगरको शुक्ष्म वर्गीकरण केन्द्र उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका– २ स्थित सरस्वती टोलको वायोग्यास प्लान्टसँगै उपमहानगरले शुक्ष्म फोहोर वर्गीकरण केन्द्र निर्माण गरेको हो ।

यहाँ उप–महानगरबाट संकलन भएको नकुहिने फोहोर जम्मा गरेर शुक्ष्म तरिकाले वर्गीकरण गरिने धनगढी उप महानगरपालिकाले जनाएको छ । नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिक, फलाम, रबर, कागज र शिशाजन्य फोहोर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलग–अलग छुट्याएर राखिने छ । यहाँ नकुहिने फोहोर मात्रै ल्याउने र त्यसको प्रकृति अनुसार अलग–अलग छुट्याएर भण्डारण गरिने छ ।

धनगढी उप–महानगरले फोहोरलाई नगरको आयश्रोतको माध्यम बनाउने उद्देश्यले शुक्ष्म वर्गीकरण केन्द्र निर्माण गरेको जनाएको छ । उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहोर संकलन गर्दा स्रोतमै कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्ने गरेको छ । कुहिने फोहोर संकलन गरेर वडा नम्बर २ मै रहेको व्यायो ग्यास प्लान्टलाई दिने गरेको छ भने नकुहिने फोहोर सुक्ष्म व्यवस्थापन केन्द्रमा ल्याएर वर्गीकरण गरिने छ । हाल धनगढीबाट संकलन भइरहेको दैनिक ३० टन फोहोरमध्ये १२ देखि १५ टन कुहिने फोहोर छ ।

अहिले उप–महानगरले फोहोर व्यवस्थापनमा आफ्नो श्रोत खर्च गर्दै आएको भएपनि आगामी दिनमा फोहोरबाट भएको आम्दानीले नै फोहोरको व्यवस्थापन गर्ने उप–महानगरको लक्ष्य छ । फोहोरलाई नगरको आयश्रोतसंग जोड्ने काम सफल बनाउन नगरवासीको सहयोग अपरिहार्य हुने अपेक्षा लिइएको छ ।

धनगढी उप–महानगरले शुक्ष्म वर्गीकरण केन्द्र निर्माणमा २५ लाख ५१ हजार ४ सय ५० रुपैयाँ लाग्ने अनुमान गरेकोमा २२ लाख ३ हजार ८ सय ३१ मा केन्द्र निर्माण सम्पन्न भएको हो । संकलित फोहोर धनगढी उपमहानगरले देव तालीम केन्द्रसँग सहकार्य गर्दै बनाइएको वायो ग्याँस प्लान्टलाई दिदै आएको छ । प्लान्टले दैनिक एक सय सिलिन्डरभन्दा बढी ग्याँस उत्पादन गर्दै आएको छ भने फोहोरबाट मलसमेत उत्पादन गर्दै आएको छ ।