बेनी-जोमसोम सडकको गुइठेभिरमा निरन्तर पहिरो, कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य यात्रु

बेनी, ८ भाद्र । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा निरन्तर पहिरो झरिरहेको छ। निरन्तरको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक मर्मत गरी सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बिहीबार दिउँसोदेखि सुरु भएको पहिरो शुक्रबार मध्यान्नसम्म पनि नरोकिएको बताए।

‘पाँच दिनको प्रयासमा बुधबार यातायात खुलाएका थियौं,’उनले भने, ‘सडक माथिको भीरबाट निरन्तर पहिरो खसिरहेको छ । ठूलाठूला ढुंगाहरू खसिरहने भएकाले पहिरो नरोकिदासम्म त्यहाँ डोजर र मजदुर पठाएर मर्मत गर्न संभव छैन।’

आयोजना प्रमुख प्रजापति,इञ्जिनियर बिष्णु चापागाई, डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल, अजय स्याङताङ, सुभर भाइजर इन्द्रसिंह शेरचनलगायतको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा पहिरो खसेको छ । गुइठेभिरको पहिरोले फगामको डाडामा रहेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको टावर पनि जोखिममा परेको छ ।

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको आयोजना प्रमुख प्रजापतिले बताए ।

सडक अवरुद्ध हुँदा जलथले र दाना क्षेत्रमा सवारी साधनहरु रोकिएका छन् । दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरी यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरुलाई अनुरोध गरिएको बताए ।

 

Source:annapurnapost