पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता

चितवन, ८ भदौ । चितवनकी एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो व्यक्तिगत मानहानि र चरित्रहत्या गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।
वास्तविकता के हो भन्ने नै नबुझी अनधिकृतरुपमा सामाजिक सञ्जालमा तस्बिर राखेर व्यक्तिगत चरित्रहत्या भएको भन्दै उक्त फेसबुक प्रयोगकर्तालाई तत्काल नियन्त्रणमा लिई कानुनी उपचार गराउन माग गर्दै प्रहरीमा ‘साइबर क्राइम’सम्बन्धी उजुरी दर्ता गराएकी हुन् । भीम उपाध्याय (मनमौजी) नामक फेसबुकमार्फत पीडित महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट भएको थियो ।
‘त्यतिबेला रमाइलो गर्नका लागि छोटो भिडियो बनाएर टिकटकमा राखेकी थिएँ’, पीडित पूर्णिमाया भन्छिन्, ‘अहिले आएर त्यही भिडियोको स्क्रिन सर्ट गरेर मविरूद्ध गाली बेइज्जती भइरहेका छन् । यसले म र मेरो परिवारलाई मानसिक यातना दिएको छ ।’ भीम उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।