डोकोनाम्लो सहित दैनिक नदी किनारमा

भरतपुर, ९ भाद्र  । अपिल घिमिरेले राप्ती नदी वरपर प्लास्टिक, सिसालगायतका फोहोर टिप्न थाल्नुभएको छ वर्ष बितिसकेको छ । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय घिमिरेको दिनचर्या बिहान उठ्नासाथ डोकोनाम्लो लिएर फोहोर टिपेर बित्ने गरेको छ ।

उहाँले २०७३ माघ २३ गतेबाट सुरु गर्नुभएको सरसफाइ अभियान अहिले पश्चिम चितवनको पटिहान र जगतपुर क्षेत्रमा जारी छ । हरेक शनिबार स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता, विद्यार्थी, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले अभियानलाई साथ दिन थालेका छन् ।

उहाँले भन्नुभयो, “सुरुमा एक्लै थिएँ । त्यो बेला चर्चा बटुल्न यस्तो काम गर्न थालेको भनेर कतिले त व्यङ्ग्य गरे । अब त सबैले बुझ्न थाले । सहभागिता बढ्न थालेको छ ।” स्वस्फूर्त रूपमा राप्ती नदी सरसफाइ अभियान सञ्चालन गर्नुभएका अपिलले सबैको सहभागितामा सञ्चालन गर्नुभएको शनिबारे अभियानले ४२८ हप्ता पूरा गरिसकेको छ । अन्य दिनमा भने उहाँ एक्लै सफाइ कार्यमा खटिँदै आउनुभएको छ ।

उहाँले नदी र वन क्षेत्रमा गरी हालसम्म करिब १८ हजार मेट्रिकटन फोहोर उठाइएको दाबी गर्दै थप्नुभयो, “सिसा, जङ्कफुडका खोल, पानीका बोतल, गुट्खाका खोल आदि बढी फेला पर्छन् । फलाम, तामालगायतका फोहोर पनि भेटिन्छन् । वर्गीकरण गर्दा ५० प्रकारका फोहोर सामग्री पाइएका छन् ।” यसरी सङ्कलित फोहोर कतिपय बिक्री गरेर आम्दानी हुने गरेको छ भने कतिपय फोहोरलाई नगरपालिकाको ट्याक्टरमा राखेर पठाइदिने गरिएको छ ।

भारतमा प्लास्टिकजन्य फोहोरले नदीका जलचरमा परेको प्रभावका बारेमा अध्ययन भए पनि नेपालका नदीमा त्यस्तो अध्ययन भएको छैन । जलचरविज्ञ वेदबहादुर खड्काले भन्नुभयो, “भारतमा मगर गोही र घडियाल गोहीको मृत्युपछि पेटमा प्लास्टिक भेटिएको थियो । जथाभाबी फ्यालिने फोहोरले नदीलाई प्रदूषित तुल्याउनुका साथै जीवजन्तुको जीवनचक्रममा नै असर पु¥याउँछ ।”  वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछानेले सन् २०२० देखि २०२२ सम्म गरिएको एक अध्ययनमा गैँडाको दिसामा प्लास्टिक भेटिएको बताउनुभयो । वन्यजन्तुविज्ञ डा. बलराम अवस्थीको नेतृत्वमा डा. लामिछाने, मलेसियाका डा. खिमआर माक्कोनीको टोलीले गरेको अध्ययनका क्रममा २५८ वटा गैँडाका दिसा परीक्षण गर्दा २६ वटामा प्लास्टिक फेला परेको थियो । “यो गम्भीर विषय हो । प्लास्टिकले वन्यजन्तुलाई गम्भीर असर गर्छ,” उहाँले भन्नुभयो ।

यस वर्षको विश्व वातावरण दिवसमा भरतपुर महानगरपालिकाले वातावरण संरक्षण अभियन्ता र चितवन राष्ट्रिय निकुञ्जले जैविक विविधता संरक्षण पुरस्कारबाट उहाँलाई पुरस्कृत गरेको छ ।

२०७५ पुस १७ गते निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिए पनि त्यसको सार्थक कार्यान्वयन हुन सकेको छैन । निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अभियानकर्ताका कारण नदी प्रदूषणलाई कम गरेको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।