भरतपुर अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गरिने

भरतपुर, ९ भाद्र । अस्पतालभित्र हुने चोरीका घटना नियन्त्रणका लागि भरतपुर अस्पतालले बिरामी कुरूवाका लागि ‘लक डोर’को व्यवस्था गरेको छ । बिरामी कुरूवा र आफन्तको सामान हराएको गुनासो दैनिकजसो आउन थालेपछि यस विषयमा अस्पताल प्रशासनले गम्भीर भएर ध्यान दिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘मान्छे चिनिँदैन, बिरामीकै आफन्तजस्तो बनेर आउँछन् अनि बिरामीका आफन्तको पैसा, मोबाइललगायतका सामान चोरेर लैजाँदा रहेछन्’, शुक्रबार भएको अस्पतालको सार्वजनिक सुनुवाइका क्रममा प्राडा पौडेलले भने, ‘सार्वजनिक स्थान भएकोले सुरक्षा गार्डबाट निगरानी गर्न पनि नसकिने रहेछ ।’

त्यसैले, लक डोरको व्यवस्था गरिएको उनले बताए । यसले अस्पतालमा हुने चोरीका घटनामा कमी ल्याउन सकिने उनको दाबी छ । ‘लक डोर भएपछि बिरामीका आफन्तले सामान सुरक्षितसाथ राख्न पाउने भए । सामान राख्न र निकाल्नका लागि अस्पतालले उपलब्ध गराएको कार्ड देखाएपछि मात्रै लक खुल्ने व्यवस्था भएकोले कार्ड नभएका व्यक्तिबाट खोल्न सम्भव हुँदैन’, अस्पतालको पछिल्लो प्रगति सुनाउँदै प्राडा पौडेलले भने ।

पार्किङ निःशुल्क

भरतपुर अस्पतालले सेवाग्राहीका सवारीसाधन पार्किङ गरेबापत शुल्क उठाउँदै आएको छ । तर, भोलि आइतबारदेखि उक्त शुल्क हटाएर निःशुल्क पार्किङको व्यवस्था गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । सरोकारवाला निकायबाट निःशुल्क गराउन दबाब आएपछि शुल्क हटाउने निर्णय गरिएको उनले बताए ।

‘अस्पतालले पैसा संकलन गर्ने उद्देश्यले पार्किङको शुल्क उठाएको थिएन । सेवाग्राहीको सवारीसाधनको सुरक्षासहितको व्यवस्थापन आवश्यक पर्ने हुँदा न्यूनतम शुल्क उठाइएको थियो’, उनले भने, ‘तर गुनासो नै धेरै आउने र जनप्रतिनिधिबाट पनि हटाउन दबाब दिएपछि हामीले हटाउँदै छौँ ।’

खासगरी, सेवाग्राहीमा सरकारी संस्थाप्रति हेर्ने दृष्टिकोणका कारण शुल्कसहितको पार्किङको व्यवस्था गर्नु परेको उनले बताए । निजी क्षेत्रलाई ठेक्का दिएपछि सबै व्यवस्थापन सहज हुने भएकोले शुल्क उठाउने गरी व्यवस्था गरिएको उनले बताए । ‘तर, स्थानीय सरकारले नै शुल्क हटाउन भनेपछि हामीले हटाउन लागेका हौँ’, प्राडा पौडेलले भने ।

पछिल्लो समय अस्पतालले बिरामी कुरूवा घर, ३ नम्बर गेट, भरतपुर–१० को सहयोगमा अस्पतालको पुरानो गेटअगाडि सार्वजनिक शौचालय निर्माणलगायतका काम भएको उनले बताए । त्यसबाहेक आकस्मिक कक्षको विस्तार, अस्पतालमा आवश्यक यन्त्र उपकरणको व्यवस्थापनलगायतका मह¤वपूर्ण काम भएको उनले बताए । यहीबीचमा अस्पतालको पछाडिपट्टि कपडा धुने, सुकाउने र नुहाउने ठाउँको समेत व्यवस्था मिलाएको उनले बताए ।

‘बिरामीका आफन्तलाई सरसफाइमा समस्या भएपछि हामीले नुहाउने, कपडा धुने र सुकाउनेजस्ता कामलाई सहज बनाएका छौँ’, उनले भने । अस्पतालले बहिरङ्ग सेवाका लागि टिकट निःशुल्क बनाएको छ । आधुनिक प्रविधिको प्रयोग गर्न÷गराउनका लागि अनलाइनबाटै टिकट लिन सक्ने सुविधाको समेत थालनी गरेको छ । अनलाइन टिकटको व्यवस्था गर्दा अस्पतालको काउन्टरमा भीडभाड कम हुने विश्वास लिइएको छ ।

अस्पतालको बिलिङ काउन्टर, फार्मेसीलगायतका सुविधालाई पनि थप गर्दै लगेको अस्पतालले जनाएको छ । सकेसम्म सेवाग्राहीको गुनासो आउने कामलाई कम गराउने गरी काम गर्ने प्रयास गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए । संघीय अस्पताल भए पनि आवश्यक रकम विनियोजन नहुँदा अस्पताल सञ्चालनमा समस्या आइपरेको उनले बताए ।