सार्वजनिक यातायातलाई नियन्त्रण गर्नु गलत : व्यवसायी

रत्ननगर, ९ भाद्र । रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा हालै सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई स्वागत गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यावसायिक सुरक्षामा देखिएका समस्या दर्साउँदै समाधानका लागि आग्रहसमेत गरिएको छ ।

संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने महानगरको निर्णयलाई प्राथमिकताका साथ उठाउँदै सार्वजनिक यातायातलाई बिनारोकावट नारायणगढ बजारसम्म जाने वातावरण बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले सार्वजनिक यातायातलाई नियन्त्रण गर्ने महानगरको निर्णय गलत रहेको भन्दै नारायणगढ बजारसम्म जान पाउने वातावरण बनाउन आग्रह गरे । उनले व्यावसायिक सुरक्षाको विषयमा प्रजिअलाई ध्यानाकर्षण गराउँर्दै चितवन जिल्लाको पहिचानका रुपमा रहेको पोल्ट्री, माछा, तरकारी, मह, दुग्धलगायत खाद्यान्न बालीहरुको प्रवद्र्धन र संवद्र्धनका लागि भारतबाट अवैधरुपमा आयात हुने वस्तुहरुलाई निरूत्साहनका लागि पहल गर्न आग्रह गरे ।

रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य ज्ञानबहादुर विसुरालले चितवनमा अवैधरुपमा सामानहरु आयात हुँदा व्यवसाय धरापमा परेको, बेरोजगारी बढेको र राजस्व चुहावटमा समेत वृद्धि भएको भन्दै यसलाई नियन्त्रण गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्ने अगुवा व्यवसायीहरुले मूल्य वृद्धि नियन्त्रण, व्याजदर, अवैधरुपमा सञ्चालन गर्ने व्यवसायीहरुमाथि नियन्त्रण, जथाभावी सवारी चेकजाँचलगायतका विषयमा ध्यानाकर्षण गराउँदै पूर्वी चितवनबाट चल्ने सार्वजनिक यातायातका साधनहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने र अर्को सवारीसाधन फेर्नुपर्ने झन्झट हटाई निर्बाधरुपमा सार्वजनिक यातायात चल्नका लागि वातावरण बनाउन आग्रह गरे । व्यवसायीहरुले व्यावसायिक सुरक्षासँगै बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न प्रजिअ थापालाई आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी थापाले चितवन आर्थिक एवं रणनीतिक हिसाबले मह¤वपूर्ण जिल्ला भएकोले निजी क्षेत्रसँग सहकार्य गरी अवैधरुपमा भित्रिने सामग्रीहरुको नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न तयार रहेको भन्दै उनले सार्वजनिक यातायातका साधनका विषयमा उठेका समस्या समाधानका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी समाधान गर्ने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्षहरु, विभिन्न वस्तुगत समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले २०८० पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने रत्ननगर महोत्सव–२०८० लाई सफल बनाउन र जिल्लाको आर्थिक, सामाजिक एवं समग्र विकासका लागि जिल्ला प्रशासन कार्यालयसँग सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम महासचिव निराजन खनालले सञ्चालन गरेका थिए ।