महिला भन्दा पुरुष धेरै किन्छन् ‘इकोन’

प्रतीक्षा आले

गोरखा, ९ भाद्र  ।  शुक्रबार अपराह्न २ बजेतिर गोरखा सदरमुकामको एक औषधी पसलमा एक पुरुष आइपुग्छन् ।
‘त्यो दिनुस् न’ ‘हस्, एक मिनेट है ।’

संकेत–संकेतको छोटो संवादपछि औषधी पसलेले ¥याकको सजिलै भेटिने ठाउँमा राखिएको ‘इकोन’ लेखेको पाकेट झिक्छिन् र १५, १६ बर्षका जस्ता देखिने ती युवालाई एकपत्ता दिन्छिन् ।

‘देख्नुभयो ?’ ती युवा गइसकेपछि खासखुस गर्दै ती औषधी पसलेले भनिन्, ‘यो केटा सँधै ‘यो’ किन्न आउँछ । ‘यो’ एकजनालाई मात्र खुवाउँछ कि धेरैजनालाई खुवाउँछ कुन्नि ? एउटै केटीले यति धेरै यो औषधी खाई भने बाँझी त निश्चित हुन्छे, पाठेघरको रोग पनि लाग्छ ।’ आफ्नो पसलमा आकस्मिक गर्भ रोक्न प्रयोग हुने चक्की किन्न महिलाभन्दा पुरुष धेरै आउने उनको भनाइ छ ।

महिलाले सेवन गर्ने उक्त चक्कीको अधिकांश खरिद महिलाले भन्दा पुरुषहरुले धेरै गर्ने औषधी व्यवसायीहरु बताउँछन् ।
स्वास्थ्यका लागि हानिकारक भए पनि यसको पर्वाह नगरी गोरखाका युवा युवतीहरुमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ ।

‘इकोन’, ‘आईपिल’, ‘निल–७२’ लगायतका आकस्मिक गर्भनिरोधक चक्कीको सेवन व्यापक बढेको देखिएको हो । महिलाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने यी औषधीको प्रयोगकर्ताको संख्या अधिक रहेको सदरमुकामका एक औषधी व्यापारी बताउँछन् । उनका अनुसार औषधी खरिद गर्नेमा बढिजसो पुरुष नै हुन्छन् । आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेसँगै पुरुष तथा महिलाले प्रयोग गर्ने कन्डमको बिक्री भने कम भएको उनको भनाई छ । ‘८० रुपैयाँमा आउँछ । १२÷१३ वर्षकाहरु पनि सजिलैसंग किन्न आउँछन्’, उनी भन्छन् ‘विस्तारै यस्ता चक्कीले कन्डमको प्रयोगलाई विस्थापित गरिसक्यो ।’

अर्का औषधी व्यापारी सचिन श्रेष्ठको इकोन बिक्रीसम्बन्धी अनुभव पनि उस्तै छ । पछिल्लो समय गर्भ निरोधक चक्कीको माग उच्च रहेको उनी बताउँछन् । ‘इकोन दैनिक २० पत्ताभन्दा धेरै बिक्छ’, फेरि सम्झँदै उनी भन्छन्, ‘अँ, अझ त्यो भन्दा धेरै कट्छ ।’

उनको पसलमा पनि एउटै पुरुष दिनहुँजसो इकोन किन्न आउँछन् । ‘एउटै केटीले मात्र सेवन गर्छ कि फरक फरक थाहा छैन्’, उनी भन्छन्, ‘यदि एउटै केटीले यति धेरै इकोन खाने हो भने त्यो ठूलो चिन्ताको विषय हो ।’ उनी आफुले पटक पटक यी औषधीहरुको बेफाइदाका बारेमा युवा युवतीहरुलाई सुनाउने गरेको बताउँछन् ।

‘जति सुनाए पनि मतलबै छैन् । उल्टै हामीहरुलाई थर्काउछन् । ८० रुपैयाँ पर्ने चक्कीलाई कोहीकोही त सय रुपैँया दिएर पैसा पनि फिर्ता नलिई जान्छन् ।’

१४, १५ बर्षका बालिकाहरु पनि यस्तो औषधी किन्न आउने गरेको अर्का औषधी व्यवसायी बताउँछन् । ‘के कुरा गर्नु, मान्छे हेर्दा १४, १५ बर्षका जस्ता देखिन्छन् । हाकाहाकी औषधी मागेर पानी मागेर हाम्रै अगाडि खाएर जान्छन्’, उनी भन्छन्, ‘यस्तो चक्कीको प्रयोगले भविष्यमा बच्चा नै नबस्नेसम्मको खतरा हुन्छ । धेरै सेवन गरेमा पाठेघरको समस्या हुन्छ भन्ने मतलबै गर्दैनन् ।’

अहिले ७२ घण्टे चक्की भनेर चिनिने इकोनको व्यापार राम्रो छ । इकोनका बिक्रेताहरुलाई पनि दोब्बर फाइदा छ । तर उपभोक्तामा यसको दुश्प्रभाव धेरै छ ।

यसको प्रयोगले कसैलाई वाकवाकी हुन्छ, रक्तश्राप हुन्छ, कसैको बच्चा खेरा नगई गर्भ रहन्छ, बच्चा रह्यो भने पनि अपाङ्ग हुन सक्छन्, बाँझोपना हुने गर्छ । तत्कालीन असर बाहेक अन्य खतरा पनि हुने चिकित्सकहरु बताउँछन् । एक अनुसन्धानका अनुसार यसको दुरुपयोग गरे, नियमित उपयोग गरे स्वास्थ्य सम्बन्धी जटिलता देखिन सक्ने खतरा हुन्छ । यसको नियमित उपयोगले शरीरमा हर्मोनको स्तरमा वृद्घि भई स्टेराइड सम्बन्धी जटिलता देखिनुका साथै यसको नियमित उपयोगले हाड खिइने, क्यान्सर तथा मुटु रोगको सम्भावनासमेत बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने चिकित्सकहरुको भनाई छ ।

धेरै बेफाईदाहरु भएपनि यस्को लोकप्रियता भने बढ्दै गएको औषधी व्यवसायीहरु बताउँछन् । यो समाचार आजको दरौदी दैनिकमा प्रकाशित छ ।