सबैखाले घरहरुको अभिलेखीकरण गर्दै चितवनको कालिका नगरपालिका

खोलेसिमल,  ९ भाद्र । चितवनको कालिका नगरपालिकामा मोटामोटी कतिघर धुरी छन् ? कुन घर कस्ता छन ? नगरक्षेत्रका कति घरहरु मापदण्ड अनुसार बनेका छन ? यी सबैको तथ्यगत उत्तर नगरपालिकासँग छैन ।

नगरपालिका गठन भएपछि सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता २०७२ लागुभयो । कालिका नगरपालिकाले यसलाई कडाईका साथ कार्यान्वयन गर्न सकेन । नक्सापास बिना अझैपनि घर बन्ने क्रम जारी छ । यसैलाई मध्येनजर गर्दै नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थत गर्ने तयारी थालेको छ । कार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्को सातादेखि सबैखाले घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय भवन संहिता २०७२ लागु हुनुपूर्व र संहिता २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो ।

नगरपालिका गठन हुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशीका समेत तयार पारेको छ । नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरण गर्ने गरि निर्देशीका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरण गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शूल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनिले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो र कुलोमा परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादित जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिनेछैन ।

‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ’, नगर प्रमुख रेग्मीले भने, ‘जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ ।’ यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरण हुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरण गर्न लागिएको नगर प्रमुख विनोद रेग्मीको भनाई छ ।

घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ । तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए । ‘घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ’, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ ।’

नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकास तथा स्थानीय भू–उपयोग शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका थिए । बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती थियो ।