नारायणी नदीमा बेपत्ता भएका बुटवलका व्यवसायी ढकालको कुशको शव बनाएर अन्त्येष्टि गरिंंदै

चितवन,९ भाद्र । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्ने भएको छ। ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदी पुलबाट बेपत्ता भएका थिए।

गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहिन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि व्यवसाय गर्दै आएका थिए। बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर अन्तिम संस्कार गर्न लागिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए।
देवघाटमा हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गर्नका लागि जान लागिएको भट्टराईले जानकारी दिए। ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो। तर पनि भेट्टाउन भने सकेन। २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ।

आर्थिक रुपमा समेत अव्वल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन्।

ताजा समाचार