चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति,एक अर्ब ५० करोड लगानीमा सुविधासम्पन्न भवन निर्माण

चितवन,९ भाद्र । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो ।

यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ । “८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो । भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले रू ६० करोड लगानी गरेको छ”, उहाँले भन्नुभयो । भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उहाँले बताउनुभयो । “हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्”, उहाँले भन्नुभयो । दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिनुभयो । अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उहाँको भनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उहाँले जानकारी दिनुभयो ।

रू एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी रू ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो । रासस