जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छः एमाले सांसद न्यौपाने

काठमाडौँ, १० भाद्र । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पु¥याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पु¥याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताउनु भयो । उहाँले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताउनु भयो ।

सांसद न्यौपानेले भन्नुभयो, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद् छ । आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्नेगरी गतिविधिहरु भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरु आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरु भईराखेका छन् । त्यसैले म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरुलाई जातजातको नाममा लडाई गराएर यो देशलाई रुवाण्डा बनाउन हामी चाहँदैनौं । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरु धन्य छ गठबन्धन ।’

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।