स्कुल बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्न रोक, कार्यान्वयनको लागि अनुगमन

रत्ननगर, ११ भाद्र । रत्ननगर नगरपालिकाले नगर भित्र सञ्चालित स्कुलबसमा सिट क्षमता भन्दा विद्यार्थी नराख्न कडाईका साथ निर्देशन दिएको छ ।

स्कुलबसमा सिट क्षमता भन्दा दोब्बर विद्यार्थी राखेको भन्दै गुनासो आएपछि सो नगरपालिकाले सुचना जारी गरी सिट क्षमता भन्दा बढी विद्यार्थी नराख्न निर्देशन दिएको हो । स्कुल बसमा कोचाकोच विद्यार्थी राखेको, विना लाइसेन्स चालक नियुक्ति गरेको भन्ने जनगुनासो आएपछि सुचना जारी गरी ट्राफिक नियम पालना गर्न निर्देशन गरिएको मेयर प्रलाद सापकोटाले बताए । सम्भावित दुर्घटनाबाट जोगाउन सुचना जारी गरी सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशनात्मक जानकारी गराइएको मेयर सापकोटाले बताए ।

सो नगरपालिकाले लाइसन्स प्राप्त सवारी चाकल नियुक्ति गरी त्यसको लिखित जानकारी नगरपालिकालाई गराउन समेत सुचनामा भनिएको छ । नगरपालिकाले गरेको सुचनालाई बेवास्था गरी सिट क्षमता भन्दा बढि विद्यार्थी राखे तथा लाइसेन्स नभएको चालकले स्कुल बस चलाएको पाइए कारबाही गर्ने मेयर सापकोटाले बताए । नगरपालिकाले जारी गरेको सुचना र निर्णयको कार्यान्वयनको लागि अनुगमन समेत सुरु गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखा, वडाध्यक्षहरु र विद्यार्थी संगठनको सयुक्त टोलीले अनुगमन गरेको हो । निमित्त नगर शिक्षा अधिकारी राजेन्द्र बराल, वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे, वडा नं १३ का वडाध्यक्ष पोट बहादुर घिमिरे,नेकपा एस निकट अनेरास्ववियू जिल्ला बरिष्ठ उपाध्यक्ष दीपक थापा लगायतको टोलीले अनुगमन गरेको हो ।

२८ जनाको सिट क्षमता भएको स्कुल बसमा ५५ जना सम्म विद्यार्थी बोकेको पाइएको विद्यार्थी नेता थापाले बताए । सम्भावित दुर्घटनाबाट जोगाउन नगरपालिकाको निर्णय कार्यान्वयनको लागि अनुगमन गरिएको थापाले बताए ।