सार्वजनिक बसबाट अपहरण गरेर मोबाइल बैंकिङमा फिरौती, एक जना पक्राउ

सप्तरी, ११ भाद्र । सप्तरीमा सार्वजनिक बसबाट दुई जना अपहरणमा परेको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार सप्तरीको रूपनी-०५ मा गत साउन २९ गते बसमा यात्रा गरिरहेका एक जना महिला र एक जना पुरूषको अपहरण भएको थियो।

‘व्यावसायिक कामको शिलशिलामा धरानबाट आएका उहाँहरू बस चढेर फर्किरहनुभएको रैछ। रूपनी-५ को युनिक अस्पताल नजिक पुगेपछि मोटरसाइकलमा आएकाहरूले बस रोकेर अपरहण गरेछन्,’ सिंहले भने,‘मोटरसाइकलमा आएकाहरूले आफूहरू प्रहरीको सिआइडी हो। केही सोधपुछ गर्नुछ भनेर बसबाट दुई जनालाई ओरालेको देखियो।’

सिंहका अनुसार अपहरणकारीले ती दुई जनालाई मुख्य सडकबाट अलि टाढाको एकान्त ठाउँमा लगेका थिए। त्यहाँबाट उनीहरूले फिरौती मागेका थिए। ‘उहाँहरूसँग भएको ९७ हजार रुपैयाँ लगेछन्,’ सिंहले भने,‘अपहरणमा परेकी महिलाका श्रीमानलाई फोन गरेर एक लाख रुपैयाँ फिरौती मागेछन्।’

धरानबाट महिलाका श्रीमानले एक लाख रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएपछि उनीहरूलाई त्यही छोडेर अपहरणकारीहरू आफ्नो बाटो लागेका थिए। अपहरणमा परेका दुबै जना त्यसपछि गाडी चढेर धरान गएका थिए।

‘उहाँहरूले त्यो दिन प्रहरीलाई खबर नै गर्नुभएन। दुई-तीन दिनपछि मात्र उजुरी लिएर आउनुभयो,’ डिएसपी सिंहले भने,‘घटनामा संलग्नहरूलाई खोज्दै जाँदा हामीले एक जनालाई पक्राउ गरेका छौं।’

पक्राउ पर्नेमा राजविराज-१ का अजयकुमार दास छन्। उनको राजविराजमै सुनचाँदी पसल छ। उनीहरूले ती दुई जनालाई पहिला नै चिनेका थिए कि त्यो दिन मात्र पछ्याएका हुन् भन्ने खुलिसकेको छैन। ‘अपहरणमा ४-५ जना संलग्न भएको देखिन्छ। हामी अरू मान्छे खोज्दै छौं थप अनुसन्धान पनि गर्दैछौं,’ सिंहले भने।

Source:Setopati