भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुशीको पर्व : सन्दीप लामिछाने

काठमाडौं, ११ भाद्र । क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।

सोमवार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गर्नुभएको हो । उहाँलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुग्नुभएको थियो । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताउनु भयो । उहाँले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताउनु भयो । उहाँले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताउनु भयो । उहाँले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताउनु भयो ।

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताउनु भयो । नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ ।