चितवनमा डेंगुको प्रकोप : ४० दिनमा १५९ जना सङ्क्रमित

भरतपुर, ११ भाद्र । चितवन जिल्लामा डेंगुको प्रकोपमा कमी आएको छैन । स्थानीय पालिकाहरुले वडासम्म डेंगुको प्रकोप कम गर्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छन्, तर पनि यसको प्रकोप अझै घटेको छैन ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार यस आर्थिक वर्ष २०८०/८१ लागेयता ४० दिनमा १५९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । उनले यो ४० दिनमा एक हजार ५९३ जनाको डेंगु परीक्षण भएको बताए ।

गत आर्थिक वर्षको साउनमा मात्र १०६ जना डेंगुबाट सङ्क्रमित भएका थिए । केसीले भने, ‘गत वर्षको तुलनामा यसवर्ष सङ्क्रमण हुने संख्या थोरै बढी छ, यद्यपि सचेतनाका कामहरु भइरहेका छन् तर प्रकोपमा खासै कमी भएको छैन ।’ उनले स्थानीय पालिका, वडा कार्यालयहरुको सक्रियताको कारण डेंगु नियन्त्रण उन्मुख भइरहेको दाबी गरे पनि तथ्याङ्कले भने घटेको देखाउँदैन ।

उनले भने, ‘डेंगु सङ्क्रमण भएका १५९ जनामा १०४ जना चितवनवासी छन्, १२ जनाको ठेगाना खुलेको छैन भने बाँकी चितवनआसपास नवलपुर, मकवानपुर, तनहुँ, गोरखालगायतका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार डेंगुको प्रकोप मंसिरसम्म रहन्छ ।

सूचना अधिकारी केसीले भने, ‘विगतका वर्षहरुमा डेंगु सङ्क्रमण बढेको समय आएकै छैन, विशेषगरी असोज–कार्तिकमा यसको प्रकोप बढी हुन्छ, सावधानी अपनाउन जरूरी छ ।’ निरन्तरको वर्षाले गर्दा पनि डेंगु सङ्क्रमितको संख्या बढिरहेको चिकित्सकहरु बताउँछन् ।

वर्षा हुने अनि घाम लाग्ने गर्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने गर्दछ । ‘विगतका वर्षमा साउनमा कम, भदौ–असोजमा सङ्क्रमित बढी हुने गर्थे, अहिले साउनमै सङ्क्रमितको संख्या अधिक देखियो । भदौ र असोजमा अझ बढ्न सक्ने आकलन गरिएको छ’, केसीले भने, ‘आआफ्नो ठाउँबाट सबैले सजगता अपनाउने, सचेतना जगाउने कामहरु गर्न जरूरी छ ।’

सहरका घर–घरमा ‘डेंगुको लार्भा–प्युपा खोज र नष्ट गर’ अभियान चलाउने र चेतनामूलक कार्यक्रम गर्ने हो भने सङ्क्रमितको संख्यामा कमी आउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

विक्रम संवत् ०६७/६८ मा चितवनमा डेंगुको महामारी फैलँदा पाँच जनाले अकालमा ज्यान गुमाएका थिए । डेंगुबाट गत आर्थिक वर्ष ३ जनाको मृत्यु भएको थियो । त्यसयता बर्सेनि डेंगुबाट मृत्यु हुने क्रम चलिरहेको छ । यस आर्थिक वर्षमा पनि डेंगुबाट एक जनाको ज्यान गएको तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छ । कार्यालयका अनुसार मकवानपुरका एक पुरूषको चितवनमा उपचारको क्रममा गत साउनमा मृत्यु भएको थियो ।

एडिस एजिप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने गर्दछ । ‘दुई–चार दिन लगातार झरी परेर रोकिएको छ, यो बेलामा सङ्क्रमण दर उच्च हुन सक्छ’, सूचना अधिकारी केसीले भने ।

डेंगु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने हुन्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छ । यस्तै वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ ।

सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा पहिलोपटक डेंगुको सङ्क्रमण देखिएको बताइन्छ ।

 

Source:Echitwanpost