सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं,११ भाद्र । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ ।

सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो । उहाँले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने बताउनु भयो । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उहाँले बताउनु भयो । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडी बढेको भन्दै अझ सुधार हुँदै जाने बताउनु भयो ।

उहाँले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताउनु भयो । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उहाँले बताउनु भयो ।