छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ,११ भाद्र । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका-९ स्थित सडकमा म्याङलुङ बजारबाट जरिखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीय संगम तामाङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सबिन लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यत पर्साको बिन्दबासिनी गाउँपालिका-५ प्रसौनि चोकमा भारतबाट भेलाहीतर्फ आइरहेको बिआर ०५ एएस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत पूर्वी चम्पारण बस्ने ६५ वर्षीया सुदामा देवीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय रौदीया ठाकुर बरहीको आइतबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी बरमझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले शंकास्पद ३ वटा मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता बाँकेको नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोकस्थित सडकमा लु.८२ प ६४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१८ बस्ने ३६ वर्षीय प्रदिप थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी पाल्पाको तानसेन नगरपालिका-१४ अर्गेली पुरानो गाउँस्थित सडकमा जोर्तेबाट अर्गेलीतर्फ जाँदै गरेको लु.४२ प ६७०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सल्यान कालिमाटी गाउँपालिका-२ बस्ने ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । पाँच वटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Source:ratopati