शून्य नतिजा ल्याउने धनगढीका १७ विद्यालयका विद्यार्थीलाई नगरप्रमुख हमालले गरे शैक्षिक सामाग्री सहयोग

कैलाली, ११ भाद्र । आधारभूत तहमा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयलाई नगरप्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

कैलालीको धनगढी उपमहानगरका नगरप्रमुख हमालले आफ्नो सेवा सुविधाबाट प्राप्त रकममा एक लाख थप गरेर झण्डै १० लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री खरीद गरि विद्यार्थीका लागि हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख हमालले २०८० सालको हालसम्मको आफ्नो सेवा सुविधाबाट प्राप्त रकममा झण्डै एक लाख रुपैयाँ थप गरेर ९ लाख ९२ हजार ६ सय २० रुपैयाँको शैक्षिक सामाग्री खरीद गरि विद्यार्थीका लागि हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक सामाग्री हस्तान्तरणले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थीलाई निकै सहयोग पुग्ने बताएका छन् । कतिपय विद्यार्थीसँग पढ्ने लेख्ने सामाग्री नहुँदा पढाइमा अवरोध हुने गरेकोमा शैक्षिक सामाग्री वितरणले राहत पुग्ने विश्वास लिइएको शिक्षक पवित्रा भट्ट पाण्डे र कुलदीप शाहको भनाई छ ।

धनगढी उपमहानगरका शिक्षा शाखा प्रमुख नरेन्द्र खातीले कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याएका १७ विद्यालयले नाम उपलब्ध गराए अनुसार नगर प्रमुखले शैक्षिक सामाग्री सहयोग गरेको जानकारी दिनुभयो । प्रतिविद्यार्थी २ सय ८५ रुपैयाँका दरले स्टेशनरी साम्राग्री खरिद गरेर ३ हजार ४ सय ८९ जना विद्यार्थीका लागी उक्त सामग्री वितरण गरिएको छ ।धनगढी उपमहानगरपालिकामा २०७९ मा कक्षा ८ को अन्तिम परीक्षामा शून्य नतिजा ल्याएका १७ विद्यालयका ३ हजार ४ सय ८९ विद्यार्थीलाई कपी, पेन्सिल, कटर र इरेजर सहयोग गरिएको छ ।

नगर प्रमुख हमालले उप–महानगरपालिकाको कार्यालयमा विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । शैक्षिक सामाग्री सहयोग गर्दै उहाँले विद्यालयका शिक्षकहरुलाई अध्यापनमा मात्र ध्यान दिन निर्देशन दिनुभयो । नगर प्रमुख हमालले विद्यालयमा पूर्वाधार, शैक्षिक सामाग्री, टेबुल, बेन्चहरु पनि आगामी दिनमा सहयोग गर्ने बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख हमालले धनगढीका पाँच वटा नमुना विद्यालयहरुमा चालु आर्थिक वर्षमा अग्रेजी माध्यममा अध्यापन गराउने तयारी गर्नुभएको छ । यस्तै शिक्षा सुधार कोष स्थापना गर्ने र विद्यालयको सबै क्षेत्रमा सहयोग गर्ने उहाँको तयारी छ ।

 

source: Image