एउटा ऋण निष्क्रिय भएमा अरु पनि सुक्ष्म निगरानीमा पर्ने

काठमाडौँ, ११ भाद्र । एकभन्दा बढी ऋण लिएका व्यक्ति वा संस्थाको कुनै एउटा ऋण निष्क्रिय वर्गमा वर्गीकरण भएमा अरु ऋण पनि सुक्ष्म निगरानीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

‘कुनै ऋणी संस्था वा व्यक्तिले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा बक्यौतालाई कम्तीमा सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि एउटा ऋण निष्क्रिय वर्गमा रहे पनि अरु ऋणको साँवा ब्याज भुक्तानी नियमित भएको अवस्थामा सुक्ष्म निगरानीमा राख्नु पर्दैनथ्यो ।

त्यस्तै कुनै समूहभित्रको एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीको उक्त ऋणीसँग व्यावसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्येक्ष रुपमा प्रभावित हुने समूहका अन्य ऋणीको ऋणलाई पनि निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले यो विषयलाई उदाहरणकै रुपमा प्रष्ट्याएको छ । ‘एउटै समूहका ५ ऋणीमध्ये कुनै एक ऋणी कमसल वर्गमा परेमा बाँकी रहेका ४ ऋणीमध्ये उक्त ऋणीबाट प्रत्येक्ष प्रभावित हुने एक ऋणी भएमा सो ऋणीको भुक्तानी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नुपर्नेछ’ राष्ट्र बैंकले भनेको छ ‘तथापि कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्येक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन ।’

Source:Ekantipur