भरतपुर महानगरपालिका–२९ स्थित खहरे खोलामा पक्की पुल निर्माण

चितवन, ११ भाद्र । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी–कुसुमटार–ढोडेनी सडकमा पर्ने खहरे खोला पक्की पुल निर्माण गरिएको छ । ३५ लाख रुपैयाँको लागतमा बनेको पुलको उद्घाटन आज (आइतवार)भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । उद्घाटन गर्दै मेयर दाहालले जनताको माग अनुसार आकस्मिक बजेट विनियोजन गरेर पुल निर्माण गरिएको जानकारी दिईन् ।

‘कार्यक्रममा आउँदा पुलको समस्या देखेँ । तपाइँहरुले पनि माग गर्नुभयो,’ दाहालले भनिन् ‘तपाईहरुको माग अनुसार बजेट विनियोजन गरेर काम अगाडि बढेका हौँ ।’ पुल निर्माणका काम डेढ बर्षअघि थालिएको हो । बाँकी ठाँउमा कालोपत्रे गर्दै जाने मेयर दाहालले बताईन् ।

पानी पर्दा खहरे खोला ठुलो हुन्छ । यस सडक प्रयोग गर्ने मानिसहरु पानी आउँदा वारीको वारी र पारीको पारी नै हुनुपर्ने अवस्था थियो । पुल बनेपछि स्थानीय समेत खुशी भएका छन् । स्थानीय गोरखबहादुर लामा पुल बने संगै हिड्न सहज भएको बताए । ‘बाढी आउँदा पर्खेर बस्नु पर्दथ्यो, छोरा छोरी स्कुल जान पाउँदैनथे,’ उनले भने ‘पुल बनेपछि सहज भएको छ ।’ उनले खहरे खोला नजिकै रहेको कुशुम टार खोलामा पनि पुल निर्माण गर्न अनुरोध गरे । बलराम तामाङले कुशुम टार जाने बाटो निर्माण गरिदिन मेयर दाहाललाई आग्रह गरे । उद्घाटन कार्यक्रममा वडा नम्बर २९का अध्यक्ष सुर्य बहादुर गुरुङ सहित स्थानीयको समेत सहभागिता रहेको थियो ।