विद्यालय क्षेत्रवरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक

भरतपुर, ११ भाद्र । भरतपुर महानगरपालिका वडा नं २ ले विद्यालय क्षेत्र वरिपरि सुर्तिजन्य पदार्थ विक्रीवितरणमा रोक लगाएको छ ।

वडाध्यक्ष मनोज रानाभाटका अनुसार जुनकुनै शैक्षिक संस्था तथा सार्वजनिक स्थलको एक सय मिटर क्षेत्रभित्र धुमपान, मध्यपानलाई पनि रोक लगाइएको छ । भरतपुर २ नं वडा कार्यालयले सूचना निकालेर विद्यालय क्षेत्र वरपर कसैले धुमपान, मध्यपान तथा सुर्तीजन्य पदार्थ विक्रीवितरण गरेको फेला पारेमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

वडाध्यक्ष रानाभाटले भने, ‘विद्यालय क्षेत्रको १०० मिटर वरपर धुमपान, मध्यपान तथा सुर्तीजन्य पदार्थ विक्रीवितरण गरे वा सेवन गरे कारबाही प्रक्रिया अगाडि बढाइनेछ, वडाको टिमले विभिन्न पसल तथा होटलहरुमा अनुगमन पनि गर्नेछ ।’ उनले वडा नं २ को सम्पूर्ण व्यवसायीहरुलाई विद्यालयको क्षेत्रभित्र सुर्तीजन्य पदार्थ विक्रीवितरण नगर्न र कोही कसैले गरेमा खबर गरिदिन पनि अनुरोध गरेका छन् । चितवन पाेष्ट