होटल व्यवसायीले सिडिओलाई सुनाए आफ्ना समस्या

भरतपुर, १२ भाद्र । होटल व्यवसायी संघ चितवनले व्यवसायीलाई परेको पिरमर्का र समस्याबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई सुनाएका छन् ।

केही दिनअघि चितवनको सिडिओका रुपमा सरूवा भएर आएका भूपेन्द्र थापा र वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेलाई स्वागत गर्दै व्यवसायीले कोरोना महामारीपछिको मन्दीले व्यवसायमा सङ्कट आएको बताए ।

भरतपुर भ्रमण वर्ष–२०२४ को समयमा होटल व्यवसाय राति पनि सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिन व्यवसायीले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पयर्टन क्षेत्रको मह¤वपूर्ण अङ्गभित्र होटल व्यवसाय पर्ने भन्दै राम्रो सेवा सत्कारले नै ग्राहकलाई आकर्षण गर्न सकिने बताए । साथै सुरक्षा चुनौतीको विश्लेषण गरेर होटल खोल्न पाउने समय थप गर्ने उनले आश्वासन दिए ।

‘जिल्लामा अपराधको अवस्थाको विश्लेषण गर्नुपर्छ । आपराधिक गतिविधिलाई विश्लेषण गरेर व्यवसायलाई खुकुलो बनाउँदै जान्छौँ’, उनले भने, ‘भ्रमण वर्षको बेला पर्यटकलाई कसरी बढीभन्दा बढी समय बसाउन सकिन्छ, राति इन्गेज हुने ठाउँ कहाँ हो, सुरक्षा चुनौती विश्लेषण गरेरमात्रै अगाडि बढ्न सकिन्छ ।’ होटल अनुगमनका क्रममा संघसँग सहकार्य गरिने उनले प्रतिबद्धता जनाए ।

कोरोना महामारीपछि देशकै अर्थतन्त्र नै थिलोथिलो भएको भन्दै उनले राष्ट्रिय अर्थतन्त्रमा चितवनको भूमिका मह¤वपूर्ण रहेको बताए । पर्यटनले अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने उनले बताए । पर्यटनसँगै होटल व्यवसाय जोडिने भन्दै उनले व्यवसायीले पर्यटकको बसाइँ लम्ब्याउनतर्फ ध्यान दिनुपर्ने बताए । साथै हाइजिन खाना र राम्रो सत्कारको व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

भरतपुर महानगरपालिकाले मनाउन लागेको भ्रमण वर्षले होटल व्यवसायलाई माथि उठाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । व्यवसायीलाई सजग र सचेत गराउनका लागि बेलाबखत अनुगमन हुने गरेको भन्दै उनले व्यवसायलाई असर पु¥याउने नियत राज्यले नराख्ने बताए । ‘राज्यले कहिल्यै पनि नागरिक र व्यवसाय सिध्याउने किसिमले लाग्दैन, राज्य व्यवसायीको संरक्षक पनि हो’, उनले भने ।

होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले कोरोनापछि व्यवसायीले कमाउने मौका नै नपाएको बताए । पछिल्लो समय होटलमा अनुगमन गर्ने क्रममा सामान्य सुरक्षा मापदण्ड पनि पालना नगरी अनुगमनकर्ता किचनमा प्रवेश गर्ने गरेको उनले बताए । राजमार्गका होटल व्यवसायीले गाडी चालकलाई निःशुल्क खानासँगै भत्ता पनि दिनुपर्ने विकृति संघले पनि हटाउन नसकेको भन्दै उनले सिडिओसँग सहयोग मागे ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले होटल व्यवसाय क्षेत्र कोरोनाले थलिएको बताए । होटल व्यवसाय क्षेत्र धेरै समस्याले जेलिएको भन्दै उनले व्यवसायीलाई उकास्न सिडिओको सहयोग मागे । संघका सचिव कृष्ण महतोले भरतपुर भ्रमण वर्षमा व्यवसाय सञ्चालनमा सहज हुने विश्वास व्यक्त गरे । निवर्तमान अध्यक्ष केशव हड्खोलेले आर्थिक मन्दीको चपेटामा परेको होटल व्यवसायलाई उकास्न प्रमुख जिल्ला अधिकारी र प्रहरीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

निर्माण सामग्री व्यवसायीद्वारा स्वागत

यसैबीच निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो ।

सो अवसरमा प्रजिअ थापाले सबै व्यवसायीसँगको सल्लाह सुझावअनुसार नै चितवनका सबै कार्यहरु गरिने विश्वास दिलाए । उनले व्यवसायी र प्रशासनको संयुक्त प्रयासले मात्रै समस्याको समाधान हुने भन्दै सबैको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा उवासंघ चितवनका तृतीय उपाध्यक्ष एवं हार्डवेयर व्यवसायी सिरिष पन्तले घरभाडा, बैंक व्याज तथा सडक विस्तारमा भएको सुस्तताले व्यवसायीहरु समस्यामा परेको गुनासो गरे । संघका अध्यक्ष हरिप्रसाद गैरेले भविष्यमा पनि समग्र चितवनको विकासमा उत्पादनमा जोडिने र उक्त कार्यमा सहयोगको अपेक्षा गरेका थिए ।