सरकारले सीआईबीलाई निकम्मा बनायो : एमाले सांसद गिरी

काठमाडौं, १२ भाद्र । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको गफ दिने तर व्यवहारमा भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समय बोल्दै उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाए ।

‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो’, उनले भने, ‘सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको आरोप लगाए । उनले अगाडि भने, ‘तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।’

उनले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाए ।

पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको सांसद गिरीले बताए ।

ललितानिवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकालाई ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा मुद्दा नचलाई सरकारी कागजात किर्तेको कसुरमा मात्र मुद्दा चलाएकामा पनि उनले आपत्ति जनाए । ‘के लेनदेन मिलेर हो ? ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा नभएर किर्तेमा मुद्दा चलाइयो ?’ उनले प्रश्न गरे ।