भरतपुर २९ को भार्लाङमा सिँचाइ सुविधापछि बाह्रैमास तरकारी खेती

भरतपुर, १२ भाद्र । चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताउनुभयो । उहाँले महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दैआएको बताउनुभयो । ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सबै क्षेत्रमा सिँचाई सुविधा पु¥याउन महानगरपालिका लागिपरेको छ,’ प्रमुख दाहालले भन्नुभयो ।

महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताउनुभयो । उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिनुभयो । मुख्य पाइप लाईन विस्तारमा रु ४३ लाख, ट्याङ्की निर्माणमा रु २० लाख र शाखा पाइपलाईन विस्तारमा रु आठ लाख खर्च भएको छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो ।
भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको बताउनुहुन्छ । उहाँ आफै पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थाल्नुभएको छ । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौँ कठ्ठामा रोप्नुभएको छ ।

“सिँचाईको अभाव थियो । यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ ट्याङ्की निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भन्नुभयो, “अहिले मकै भाँचेर धान रोपेको छु । धान काटेपछि तरकारी खेती गर्ने योजना छ ।”

सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठ बताउनुहुन्छ । ‘मकै, कोदो लगाउँथ्यौँ । तरकारी र धान रोप्न पानी नहुने, उहाँले भन्नुभयो, “यसवर्ष आठ कठ्ठामा धानसमेत रोपेको छु । अहिलेसम्म राम्रो देखिएको छ ।’ उहाँले तरकारी खेतीको समेत विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ । खोलाको पानी ट्याङ्कीमा संकलन हुन्छ । ट्याङकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पु¥याइएको उहाँले बताउनुभयो । भरतपुर–२९ का वडा सदस्य डिल कुमार श्रेष्ठले कोदो र मकै मात्र हुने गाउँमा सिचाइँको सुविधापछि धान र बाह्रै मास तरकारी फल्ने गरेको बताउनुभयो । उहाँले हरेक महिना गाउँघर हरियाली भएको भन्दै सबै स्थानिय व्यवासायिक रुपमा तरकारी खेतीमा लागेको जानकारी दिनुभयो ।

भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले भैगोलिक रुपमा विकट रहेको वडालाई कृषि र पर्यटन मार्फत संमृद्ध बनाइने बताउनुभयो । उहाँले आवश्यकताका आधारमा वडाका अन्य क्षेत्रमा पनि सिचाइँ सुविधा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । रासस