स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १०० जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्यांकअनुसार नेपालमा प्रत्येक चारजनामध्ये एकजनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए ।
नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक १०० जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए ।
“सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक १०० जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एकजना बालबालिकामा पुड्कोपना छ,” उनले भने, “तथ्यांकले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौँ त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परिवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।”
उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुुपर्ने बताए ।
पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए ।
लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षापनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताए। उनले सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्लाहरू हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि दुई बर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताए ।
उनले भने, “बच्चा जन्मिसकेपछि उमेर अनुसारको खानेकुराको आवश्यकता पर्छ । उमेर अनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुराहरु बच्चालाई तीन पटक, चार पटक, चार पटक जति खानुपर्ने हुन्छ । बच्चाले खानुपर्ने समयमा खान पाएन, पाएपनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ । बालबालिकालाई घरमा नै उपलब्ध भएको आहार खुवाउनुपर्छ ।”
त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताइन् । उनले गर्भास्थामा आमा र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताउँछिन् ।
बच्चालाई पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै घरपरिवारको आमा, बुबामा पुड्कोपना छ भने उनीहरूबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिनसक्ने बताइन् ।
उनले भनिन्, “पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिनसक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि हामीले खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ रु त्यसमा पनि भर पर्ने कुरा हो ।’
सरोकारवालाहरूले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।