६० किलो सुन प्रकरण : सीआईबीका एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी

काठमाडौं,१२ भदौ । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।

हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्य त्यहाँ पठाइन लागेका स्रोतले बताएको छ ।

सीआईबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो । एनसीबी बेइजिङमातहत रहेको हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना संकलन गर्न नेपाली सुरक्षा अधिकृत पनि जान लागेका हुन् ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । प्रहरीले जोख्दा ब्रेक प्याडमा ६० किलो सुन मात्रै भएको पाइएको थियो ।

यसक्रममा प्रहरीले यसमा संलग्न मुख्य ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको बयान लिएर थप अनुसन्धान भइरहेको छ ।