चौविसकोठीको शिशु प्रजनन् क्लिनिक अब नयाँ भवनमा, सय भन्दाबढी दम्पतिले पाए सन्तान

चितवन, १३ भाद्र । निसन्तानपनको समस्याले वर्षौँदेखि बच्चा जन्मिने आश मारेर बसेका दम्पतिको सपना शिशु प्रजनन् क्लिनिकले सफल बनाउँदै आएको छ । आमा बुबा बन्ने चाहना बोकेका सय भन्दा बढी महिलाले शिशु प्रजनन् क्लिनिकमा उपचारपछि बच्चा जन्माएका छन् भने सय जना महिला गर्भवती भएका छन् ।

दम्पतिमा देखिने निसन्तापनको उपचार गर्दै आएको चौविसकोठीको शिशु फर्टिलिटी क्लिनिक नयाँ भवनमा सरेको छ । पुरानो मेडिकल कलेज अगाडिबाट क्लिनिकले सेवा सुरु गरेको हो । निसन्तानपन महिला वा पुरुष दुवैमा हुने समस्या हो ।

नयाँ भवनमा सरेसँगै क्लिनिकले सेवा सुविधा विस्तार गरेको शिशु प्रजनन् क्लिनिककी सिईओ सविना बजगाईले बताइन् । उनका अनुसार १७ वर्षदेखि बच्चा जन्माउन नसकेका महिलाले पनि उपचारपछि बच्चा जन्माएका छन् । क्लिनिकले चाँडै नै नवजात शिशु र बालरोग विशेषज्ञ सेवा सुरु गर्ने उनले जानकारी दिइन् । ‘क्लिनिकमा उपचारपछि सय भन्दा बढी महिलाले सन्तान प्राप्त गर्नुभएको छ भने सय भन्दा बढी महिला अहिले गर्भवती हुनुहुन्छ । हामीले छोटो समयमै विरामीको मन जित्न सफल भएका छौँ’, उनले भनिन् ।

आईयूआइरआइभीएफ पद्धतिबाट हुने उपचारले राम्रो रिजल्ट दिएको उनी बताउँछिन् । क्लिनिकले आइभीएफ पद्धतिबाट उपचार गर्ने सेवा भर्खर मात्रै सुरु गरेको हो । निसन्तापनको उपचारको लागि काठमाडौँ जानुपर्ने र धेरै पटक फलोअप गर्दा विरामीको धेरै खर्च लाग्ने भएकाले क्लिनिकले भरतपुरबाट नै सेवा दिन थालेको हो ।

क्लिनिकले सर्वप्रथम दम्पतिमा निसन्तापनको समस्या भएरनभएको पत्ता लगाउँछ । निसन्तापनको समस्या देखिए मेडिकल र आईयुआई पद्धतिबाट उपचार गर्न सकिन्छ । कतिपय दम्पतिको समस्या औषधी सेवन गरेपछि हल पनि हुने गर्छ । महिनावारी गडबडी, हर्मोन परिवर्तन, थाइराइड र शारिरीक परिवतर्नका कारण बच्चा जन्माउन नसकेको अवस्थामा औषधी खाएरै पनि गर्भधारण गर्न सकिने उनको भनाइ छ ।

पुरुषको वीर्यमा शुक्रकिटको संख्या कम भएको अवस्थामा महिलाको पाठेघरमा डिम्बसँग मिलन हुने सम्भावना कम हुन्छ । त्यस्तो अवस्थामा पुरुषको वीर्य निकालेर कृत्रिम तरिकाले महिलाको पाठेघरमा राखिन्छ । ‘वीर्यलाई केमिकल्लि प्रोसेस गरेर उत्कृष्ट किसिमले महिलाको पाठेघरमा राख्ने प्रक्रियालाई आईयुआई भनिन्छ । त्यसो गर्दा पनि भएन भने अन्तिम उपाय भनेका आईभीएफ प्रक्रिया हो’, उनले भनिन् ।

आईभीएफ प्रक्रिया भनेको टेस्टट्यु मार्फत बच्चा जन्माउने माध्यम हो । ‘यस प्रक्रियामा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई झिकेर मिलन गराएर ल्याबमा राखिन्छ । त्यसको ३ देखि ५ दिनपछि त्यसलाई ल्याबबाट झिकेर पुनः महिलाको पाठेघरमा राखिन्छ । त्यसलाई नै आईभिएफ भनिएको हो’, उनले भनिन् । सामान्य उपचारबाट पनि सम्भव नभएकालाई मात्रै आइभिएफ गर्न सुझाव दिने गरिएको शिशु फर्टिलिटी क्लिनिककी प्रबन्ध निर्देशक सुशिला ढकालले बताइन् । ‘औषधी सेवन गरिरहेका महिलामा गर्भ बस्न दुई महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । यस पद्धतिमा महिलाले धैर्यता भने गर्न सक्नुपर्छ । साथै क्लिनिकप्रति विश्वास राख्न सक्यो भने अधिकांश केश सफल भएका पनि छन्’, उनले भनिन् ।

आईयुआई पद्धतिबाट उपचार गर्दा १२ देखि १८ हजार रुपैयाँसम्म खर्च लाग्ने उनले बताइन् । यसमा उपचार सफल हुने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ । ‘आफ्नै श्रीमानको वीर्य प्रयोग गर्दा १२ हजारमा हुन्छ भने अरु कसैको वीर्य प्राप्ती गर्दा १८ हजारसम्म लाग्छ’, उनले भनिन् । क्लिनिकले निसन्तानपनको समस्या भएका विरामीको मात्रै उपचार गर्ने भएकाले विरामीको उपचार र स्याहारलाई प्राथमिकता दिने गरिएको उनी बताउँछिन् ।

आईभिएफ मार्फत गर्भधारण गर्दा ३ देखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । यो उपचार पद्धति धेरै संवेदनशिल हुने भएकाले केहि खर्चिलो हुन पुगेको उनले बताइन् । यो पद्धतिबाट उपचार गर्दा सफल हुने सम्भावना ७० प्रतिशतसम्म हुने उनको भनाइ छ । रासस